ज्येष्ठ शुक्ल एकादशीमा घरघरका मठमा तुलसीको दल राखिँदै

काठमाडौँ, ११ असार – वैदिक सनातन धर्मावलम्बीहरूले आज ज्येष्ठ शुक्ल एकादशीका अवसरमा आ–आफ्नो घरका मठमा तुलसीको दल राख्दै छन्। यस दिनलाई निर्जला एकादशीका रूपमा पनि चिनिन्छ। परम्पराअनुसार ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राखी बीउ उम्राउने गरिन्छ। यसरी राखिएको दलबाट उम्रिएको तुलसी एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोप्ने प्रचलन रहेको छ।

यस वर्ष अधिकमास परेकाले सौरमानअनुसारको ज्येष्ठ शुक्ल एकादशीमा तुलसी रोप्ने कार्य नगरिएको र शुद्ध ज्येष्ठ शुक्ल एकादशीका दिन आज तुलसीको दल राखिएको धर्मशास्त्रविद्हरूले बताएका छन्। हरिशयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म तुलसीको विशेष पूजा–आराधना गरिन्छ। यस अवधिलाई चतुर्मास भनिन्छ। धार्मिक मान्यताअनुसार तुलसीलाई हुर्काएर भगवान दामोदर (विष्णु) सँग विवाह गराउने प्रतीकात्मक परम्परा पनि रहेको छ।

चतुर्मासका चार महिनामा स्नान, पूजा र दान–धर्म गर्नाले मनोकामना पूरा हुने विश्वास गरिन्छ। निर्जला एकादशीका दिन पानीसमेत नपिई व्रत बस्न सके विशेष पुण्य प्राप्त हुने धार्मिक मान्यता छ। स्वास्थ्य अवस्थाअनुसार व्रत बस्न नसक्नेहरूले फलफूल सेवन गरेर पनि व्रत गर्न सक्ने धर्मशास्त्रीहरूको भनाइ छ।

धार्मिक महत्वका साथै तुलसीलाई आयुर्वेदमा महत्वपूर्ण औषधीय वनस्पतिको रूपमा पनि मानिन्छ। विभिन्न रोगको उपचारमा प्रयोग हुने तुलसी वातावरणीय दृष्टिले समेत लाभदायक मानिन्छ। आधुनिक विज्ञानले पनि तुलसीलाई स्वास्थ्य र वातावरणका लागि उपयोगी वनस्पतिको रूपमा स्वीकार गरेको छ।

Facebook Comments Box