पर्यटकको रोजाइमा अन्नपूर्ण–धौलागिरि वैकल्पिक पदमार्ग
म्याग्दी, २३ मङ्सिर – म्याग्दी, कास्की र पर्वत जिल्लालाई जोड्ने अन्नपूर्ण–धौलागिरि वैकल्पिक पदमार्ग हाल पर्यटकको प्रमुख आकर्षण बनेको छ। अन्नपूर्ण चक्रीयमार्गअन्तर्गत भुरुङ–तातोपानी–घोडेपानी–उल्लेरी–वीरेठाँटी–नयाँपुल खण्ड पुरानो पदमार्ग सडक विस्तारका कारण प्रभावित भएपछि पदयात्रीले नयाँ मार्ग रोजिरहेका छन्।
नयाँ पदमार्गले कास्कीको उल्लेरी, म्याग्दीको मोहरेडाँडा, पुनहिल, घोडेपानी, स्वाँत, खोप्रा, खयरबराही ताल, बयली, मुल्डे भ्यु पोइन्ट, घान्द्रुक, लान्द्रुक हुँदै घम्पुससम्मका आकर्षक पर्यटकीय स्थल समेटेको छ। पथप्रदर्शक दिनेशकुमार घिमिरेका अनुसार १०–१५ दिनमा पूरा गर्न सकिने यो पदमार्गमा हिमाल, सूर्यास्त–सूर्योदय, वनजङ्गल, चराचुरुङ्गी, चौँरी–भेडा गोठदेखि ग्रामीण जीवनशैलीसम्म नजिकबाट अवलोकन गर्न सकिन्छ।
“सडकको प्रभाव नभएकाले वास्तविक पदयात्रा अनुभव गर्न चाहनेको रोजाइमा परेको छ,” उहाँले बताउनुभयो। पोखराबाट नजिक भएकाले पनि यहाँ पर्यटकको चहलपहल बढेको छ। घिमिरेले गत महिना मात्र बेलायतका पाँच पर्यटकलाई यो पदमार्ग घुमाएका थिए। पर्यटन व्यवसायीहरूले यसलाई धौलागिरि–अन्नपूर्ण पदमार्ग नामकरण गरेका छन्।
स्वाँतका होटल व्यवसायी बलबहादुर तिलिजा पुनका अनुसार दैनिक करिब १०० पदयात्री यहाँ आउने गरेका छन्। “पर्यटक बढेपछि बजार बसाइ छाडेर गाउँमै होटल व्यवसाय सुरु गरेका छौँ,” उहाँले भन्नुभयो। समुद्री सतहदेखि करिब २,३०० मिटर उचाइमा रहेको स्वाँत पदयात्रीको मुख्य विश्रामस्थल बन्दै गएको छ।
३,६०० मिटर उचाइमा रहेको खोप्रा लेक यस क्षेत्रको प्रमुख आकर्षणका रूपमा परिचित छ। पदमार्गमा क्याम्पिङ तथा स्थानीय लज दुवै विकल्प उपलब्ध छन्। भिरालो भूगोल, वनजङ्गल र खोल्सा पार गर्नुपर्ने भएकाले गाइडसहित पदयात्रा गर्न सुझाव दिइएको छ। अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजा पुनका अनुसार सामुदायिक लज विस्तार, पदमार्ग स्तरोन्नति र नयाँ गन्तव्य पहिचानमार्फत पदमार्गको प्रवद्र्धनमा ध्यान केन्द्रित गरिएको छ।

