भेटीको आम्दानी प्रयोग गरेर गलेश्वर मन्दिर परिसर उज्यालो
म्याग्दी, १२ मङ्सिर – भक्तजनले चढाएको भेटीबाट प्राप्त आम्दानी परिचालन गरेर म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिर परिसरलाई रातिमा पनि उज्यालो बनाइएको छ। गलेश्वर क्षेत्र विकास कोषले ‘हाइ मस्ट लाइट’ जडान गरेपछि म्याग्दीमा पहिलोपटक यस्तो प्रकारको आधुनिक प्रकाश प्रविधि स्थापना गरिएको हो।
कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार करिब रु ९ लाख ७४ हजार लागतमा १६ मिटर अग्लो पोलमा चार सय वाट क्षमताका आठ वटा बत्ती जडान गरिएको छ। स्वचालित प्रणालीले रातिमा मात्र बत्ती बल्ने व्यवस्था मिलाइएको छ। रेग्मीले बत्ती जडानपछि मन्दिर परिसरको सुरक्षा, सहजता र सौन्दर्य वृद्धि भएको बताए।
मुख्य जिल्ला अधिकारी तथा कोषका संरक्षक बद्रीप्रसाद तिवारीले बिहीबार साँझ बत्तीको स्विच थिचेर उद्घाटन गरे। कार्यक्रममा कोषका पदाधिकारी, नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधि तथा आपूर्तिकर्ता कम्पनीका प्राविधिकको उपस्थिति थियो।
कालीगण्डकी किनारमा फैलिएको गलेश्वर म्याग्दीको महत्वपूर्ण धार्मिकस्थल हो। मन्दिरमा प्राप्त भेटी तथा दाताको सहयोग पूर्वाधार विकास, सामाजिक कार्य र गलेश्वर बजार सौन्दर्यकरणमा प्रयोग हुँदै आएको कोषका सदस्यसचिव सम्मरबहादुर थापाले बताए। उनका अनुसार गलेश्वर बजार क्षेत्रमा धार्मिक वातावरण प्रवर्द्धन गर्न सात स्थानमा स्पिकर जडान गर्ने तयारीसमेत गरिएको छ।

