पकेट क्षेत्र घोषणासँगै पौवादुङमा व्यावसायिक किबीखेती विस्तार

भोजपुर, १२ मङ्सिर – पकेट क्षेत्र निर्धारण गरी लगानी बढाएपछि भोजपुरको पौवादुङमामा किसानहरू व्यावसायिक किबीखेतीतर्फ तीव्र गतिमा आकर्षित भएका छन्। श्यामशिलाका १७ किसान सङ्गठित रूपमा किबी उत्पादनमा जुटेका छन् र यसले दिगो आयस्रोतको नयाँ सम्भावना सिर्जना गरेको छ।

भोजपुर–लेगुवा सडकखण्ड नजिक भएकाले यहाँ उत्पादित किबीको बजार व्यवस्थापन सहज रहेको किसानहरूले बताए। गाईपालन कार्यक्रम सञ्चालन भइरहेकाले गोबरमलको सदुपयोग किबीखेतीमा भइरहेको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए।

गाउँपालिकाले बहुवर्षीय बाली विस्तारलाई दिगो आयस्रोतको आधार मान्दै किबीखेतीमा लगानी बढाएको उपाध्यक्ष ज्योत्सना राईले बताइन्। उनले पशुपालनबाट उत्पादन हुने मललाई प्रयोग गर्दै किसानलाई फलफूलखेतीमा प्रोत्साहन गरिएको उल्लेख गरिन्।

गाउँपालिका अध्यक्ष किरण राईका अनुसार किसानलाई व्यावसायिक खेतीतर्फ उन्मुख गराउने उद्देश्यले किबीसहित कागती, आभोकाडोजस्ता अन्य बालीका कार्यक्रम पनि सञ्चालनमा छन्। कृषि नै स्थानीयहरूको प्रमुख आम्दानी स्रोत भएकाले आवश्यकताअनुसार तालिम, अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए।

Facebook Comments Box