कोरला नाका सञ्चालनपछि माथिल्लो मुस्ताङमा जाडो छल्ने परम्परामा कमी
मुस्ताङ, १२ मङ्सिर – हिउँदयाम लागेसँगै बेँसी झर्ने सदियौँ पुरानो परम्परा रहेका माथिल्लो मुस्ताङका नागरिक यस वर्ष भने पहिलेजस्तो ठूलो संख्यामा तल झरेका छैनन्। नेपाल–चीन सीमास्थित कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि व्यापारिक चहलपहल र रोजगारीको अवसर बढेपछि धेरै नागरिक यथास्थानमै बसेका छन्।
लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीय बर्खे अन्नबाली सकिनासाथ जाडो छल्न बेँसी झर्ने गर्थे। अत्यधिक चिसो, हिमपात र पानी सहितका संरचनासमेत जम्ने हुँदा वर्षौँदेखि नागरिक र शैक्षिक संस्था कात्तिकअगावै तल झर्थे। यस वर्ष पनि विद्यालयहरू बेँसी झरेका छन् तर सर्वसाधारण भने अघिल्ला वर्षजति झरेका छैनन्।
गत वर्ष ९० प्रतिशत नागरिक बेँसी झरेका थिए भने अहिले कोरला नाका खुलेपछि यो संख्या उल्लेख्य रूपमा घटेको लोमान्थाङ–२ का वडाध्यक्ष कर्मा नाम्गेल गुरुङले बताए। नाकामा करिब तीन दर्जन स्थानीयले त्रिपाल टहरा बनाएर व्यापार सञ्चालन गरिरहेका छन्। आयात–निर्यातका सामग्री बोक्ने, चीनको हाटबजारमा व्यापार गर्ने र भन्सारसम्बन्धी काममा दिनमा रु ५–१० हजारसम्म कमाउने अवसर बढेको वडाध्यक्ष गुरुङले जानकारी दिए।
नाकासँग प्रत्यक्ष–अप्रत्यक्ष गरेर ५०० भन्दा बढी स्थानीयले रोजगारी पाएको अनुमान छ। कोरला नाका सञ्चालनमा आएपछि मुस्ताङ भन्सार कार्यालयले हालसम्म करिब रु ४ अर्ब बराबरको राजस्व संकलन गरिसकेको छ। दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार यस वर्ष लोमान्थाङबाट ३० प्रतिशत र दामोदरकुण्ड क्षेत्रबाट ५० प्रतिशत नागरिक मात्र बेँसी झरेका छन्।
यस्तै, कोरला नाका चलायमान भएपछि लोमान्थाङका अधिकांश होटल खुलिरहेका छन्। “कोरलानाका नै बन्द भए मात्र धेरै नागरिक बेँसी झर्नेछन्, अहिले भने यहाँ बसेर व्यापार चलाउने मनस्थितिमा छन्,” एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले बताए।
हिउँदयाममा तापक्रम माइनस २० डिग्रीसम्म झर्ने हुँदा बिहान–बेलुका बाहिर निस्कन कठिन हुने कार्यालय प्रमुख पौडेलले बताए। यसैबीच, नेपाल–चीन कोरलानाकामा करिब ३०० भन्दा बढी कन्टेनर माल ढुवानी र भन्सार जाँचका क्रममा लाइनमा रहेको मुस्ताङ भन्सार कार्यालय प्रमुख रमेश पौडेलले जानकारी दिए।

