सरकारले बाढी पहिरोबाट अवरुद्ध हुनसक्ने सडक र राजमार्ग सकेसम्म चाँडो खुलाई सेवा सञ्चालन गर्ने

काठमाडौं, ३ असार – सरकारले बाढी पहिरोबाट अवरुद्ध हुनसक्ने सडक र राजमार्ग सकेसम्म चाँडो खुलाई सेवा सञ्चालन गर्ने कार्ययोजनाका साथ काम थालेको छ । त्यही कार्ययोजना अनुसार अहिले सडक विभागले पहिरोले अवरुद्ध भएका राजमार्ग र सडकलाई खुलाई सञ्चालनमा ल्याउने जनाएको छ ।

सडक विभागले राजमार्ग र सडकको अवरोध हटाउन लोडर, एक्साभेटर, डोजर, ट्रान्सपोर्ट ट्रक, क्रेन, क्रेनट्रक, ट्रकलगायतका २०५ वटा हेभी इक्विप्मेन्ट तयारी अवस्थामा राखेको जनाएको छ । सम्भावित पहिरो जान सक्ने राजमार्ग र सडकका ८७ ठाउँमा त्यति नै संख्यामा हेभी इक्विप्मेन्ट तैनाथ गरिएको छ । सडक विभागका उपमहानिर्देशक तथा सम्भार महाशाखाका प्रमुख भीमार्जुन अधिकारीले राजमार्ग र सडकलाई अवरोधरहित बनाउन २०५ वटा हेभी इक्विप्मेन्ट तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।

२०५ मध्ये पहिरो जानसक्ने सम्भावित ८७ ठाउँमा त्यति नै संख्यामा हेभी इक्विप्मेन्ट तयारी अवस्थामा राखिएको विभागले जनाएको छ ।
प्रमुख भीमार्जुन अधिकारीले यसका अतिरिक्त इटहरी, जनकपुर, हेटौँडा, काठमाडौँ, पोखरा, बुटवल, नेपालगञ्ज र गोदावरीको हेभी इक्विप्मेन्ट डिभिजनहरूमा तयारी अवस्थामा राखिएको जानकारी दिनुभएको छ । तयारी अवस्थामा राखिएका इक्विप्मेन्टहरू अपुग भएमा सम्बन्धित डिभिजनबाट पठाउने गरी तयारी गरिएको उहाँले बताउनुभयो ।

Facebook Comments Box