प्रधानमन्त्री कार्कीसँग जर्मन राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १३ कात्तिक – प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले आज शिष्टाचार भेट गर्नुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको भेटका क्रममा दुई देशबीचको द्विपक्षीय हित,

आपसी सहयोग र मित्रताका विषयमा विचार–विमर्श भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्रीमा कार्की नियुक्त भएपछि राजदूत भोल्जसँग उहाँको यो पहिलो भेट हो ।

भेटका क्रममा राजदूत भोल्जले प्रधानमन्त्री कार्कीलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै जर्मनी सधैं नेपालको विकासका प्राथमिकताअनुसार सहयोग गर्न तयार रहेको आश्वासन दिनुभयो ।

प्रधानमन्त्री कार्कीले नेपालको राहदानी छपाइको जिम्मा पाएको जर्मन कम्पनीसँगको सम्झौता अनुसार छपाइ कार्य मिति अगावै सुरु गर्न आवश्यक पहल गरिदिन आग्रह गर्नुभयो ।

उहाँले नेपाली नागरिकलाई छिटोछरितो सेवा उपलब्ध गराउन यस विषयमा जर्मन पक्षको सहकार्य अपेक्षित रहेको बताउनुभयो । जवाफमा राजदूत भोल्जले सम्बन्धित कम्पनीसँग समन्वय गरी सम्भव सबै पहल गर्ने आश्वासन दिनुभयो ।

भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, परराष्ट्र सचिव अमृतबहादुर राईसहितका उच्च सरकारी र कूटनीतिक अधिकारीहरूको उपस्थिती थियो ।

Facebook Comments Box