सरकारले तत्काल राजदूत नियुक्त नगर्ने

काठमाडौँ, १३ कात्तिक – सरकारले हाल रिक्त रहेका मुलुकहरूमा तत्काल राजदूत नियुक्ति नगर्ने भएको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज आयोजित पत्रकार सम्मेलनमा अन्तरिम सरकारले तत्काल नयाँ राजदूत पठाउने योजना नरहेको जानकारी दिनुभयो ।

“राजदूतावासका दोस्रो तहका कर्मचारीबाटै काम सञ्चालन गर्न सकिन्छ, अहिलेका लागि नयाँ राजदूत नियुक्त गरिँदैन,” मन्त्री खरेलले भन्नुभयो । उहाँका अनुसार सरकारले आर्थिक रूपमा मितव्ययी ढङ्गले सञ्चालन गर्ने नीति लिएको छ ।

त्यससँगै मन्त्रिपरिषद्को बैठकले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची २ संशोधन गरी स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय गरेको छ ।

बैठकले कतारको दोहामा यही कात्तिक १७ देखि २० गतेसम्म हुने ‘सेकेन्ड वर्ल्ड समिट फर सोसियल डेभलपमेन्ट’ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता स्वीकृत गरेको छ ।

त्यसैगरी, मङ्सिर ८ देखि ११ गतेसम्म मोरक्कोमा हुने ९३औँ इन्टरपोल महासभामा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी र मङ्सिर ६ देखि १३ गतेसम्म पेरुमा हुने अन्तर्राष्ट्रिय खाद्य तथा कृषि वनस्पति आनुवंशिक स्रोत सन्धी (ITPGRFA) को एघारौँ अधिवेशनमा कृषि सचिव डा. गोविन्दप्रसाद शर्मालाई सहभागी हुन स्वीकृति दिइएको छ ।

सरकारले वैदेशिक रोजगार, न्यायालयका मुद्दा व्यवस्थापन, शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति, स्थानीय तहको पञ्जीकरण, नागरिकता, सामाजिक सुरक्षा, राहत तथा विपद् व्यवस्थापन,

अध्यागमन, तथा बन्दी व्यवस्थापन प्रणालीजस्ता क्षेत्रलाई आवश्यक कानुनी मापदण्ड पूरा भएको यकिन गरी राष्ट्रिय परिचयपत्र प्रणालीको तथ्याङ्कमा पहुँच उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

त्यस्तै, बेल्जियमको ब्रसेल्समा हुने नेपाल–युरोपेली संघ संयुक्त आयोगको सोह्रौँ बैठकमा परराष्ट्र सचिवको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने तथा मङ्सिर १ देखि ३ गतेसम्म थाइल्यान्डको बैंककमा हुने छैटौँ टोकियो र १९औँ बैंकक कन्भेन्सन कमिटी बैठकमा शिक्षा सचिव चूडामणि पौडेललाई सहभागी गराउने निर्णय गरिएको छ ।

मन्त्रिपरिषद्को बैठकले समरजङ कम्पनी कार्यालयलाई गृह मन्त्रालयअन्तर्गत राखी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने, नेपाली सेनाका एक प्रमुख सेनानीलाई महासेनानी र एक सहायक रथीलाई उपरथीमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी माघ ११ गते आइतबार निर्वाचन मिति तोक्ने र छापाखाना तथा प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय भएको मन्त्री खरेलले जानकारी दिनुभयो ।

Facebook Comments Box