मनाङमा हिमपात : तिलिचो वेश क्याम्पबाट ७५० जनाको उद्धार

काठमाडौँ, ११ कात्तिक – मनाङ जिल्लामा परेको बाक्लो हिमपातपछि तिलिचो वेश क्याम्पमा अलपत्र परेका ७५० जनाको सफल उद्धार गरिएको छ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले गएरातिदेखि परेको हिउँका कारण फसेका ती व्यक्तिहरूलाई सुरक्षित रूपमा उद्धार गरी डिस्याङ गाउँपालिका–९ खाङसार ल्याएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो।

थापाका अनुसार अन्य ५० जनालाई तिलिचो वेश क्याम्पमै सुरक्षित रूपमा राखिएको छ। मनाङ घुम्न गएका पर्यटकहरूका लागि खाङसारमा बसोबासको असुविधा देखिएपछि उनीहरूलाई सुरक्षित रूपमा फर्काउने व्यवस्था मिलाइएको हो।

यसैबीच, तिलिचो तालबाट फर्कँदै गर्दा लेक लागेर अचेत भएका काठमाडौँ महानगरपालिका–३१ का ४५ वर्षीय वीरेन्द्र रसाइलीलाई सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरी हुम्डे स्वास्थ्य चौकीमा उपचारका लागि पु-याएको छ।

सशस्त्र प्रहरी बलका अनुसार पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भई उच्च भू–भागमा उद्धार तालिम सञ्चालन हुन थालेपछि हिमपात र प्राकृतिक विपद्का घटनामा फसेका नागरिकको उद्धार कार्य थप प्रभावकारी र छिटो हुन थालेको छ।

Facebook Comments Box