खुम्बुमा बाक्लो हिमपात, जनजीवन प्रभावित

सोलुखुम्बु, ११ कात्तिक – सगरमाथा क्षेत्र आज बिहानैदेखि बाक्लो हिमपातले प्रभावित भएको छ। खुम्बु पासाङल्हामु गाउँपालिकाको दिङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा हिउँ झरिरहेको छ भने नाम्चेबजार र आसपासका तल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयो।

“दिङ्बोचेभन्दा माथि बाक्लो हिउँ परेको छ, तल्लो क्षेत्रमा पानी परिरहेको छ। सबै पर्यटकहरू होटलभित्रै छन्, बाहिर निस्कन सक्ने अवस्था छैन,” अध्यक्ष शेर्पाले बताउनुभयो।

हाल खुम्बु क्षेत्रमा करिब तीन हजारभन्दा बढी विदेशी पर्यटक रहेको अनुमान गरिएको छ। सोमबार मात्रै करिब ८०० विदेशी पर्यटक काठमाडौँबाट लुक्ला पुगेका थिए। हिमपातका कारण बाटो अस्पष्ट बनेपछि पर्यटकहरू हराउने जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले यात्रामा ननिस्कन आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले भन्नुभयो, “मौसम प्रतिकूल भएकाले सबै पर्यटकलाई होटल वा बस्तीमै सुरक्षित बस्न अनुरोध गरिएको छ।” प्रशासनले उद्धार टोली तयारी अवस्थामा राखेको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार दिङ्बोचेमा रहेको अस्थायी प्रहरी पोस्टमार्फत पर्यटकहरूको अवस्थाबारे निरन्तर जानकारी लिइँदैछ। उहाँका अनुसार दिङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा मात्रै करिब दुई हजार विदेशी पर्यटक रहेका छन्।

लगातारको हिमपात र वर्षाले चिसो बढेको छ। खुम्जुङका स्थानीय पेम्बा शेर्पाले भने, “आज बिहानदेखि निकै चिसो छ, हिउँले गाउँ ढाकेको छ, सबैजना घरभित्रै छौँ।”

नाम्चेबजार, खुम्जुङ र आसपासका बस्तीहरू सुनसान भएका छन्। स्थानीय शिक्षक कोपिला घतानीका अनुसार, “हिउँले सुन्दर दृश्य दिएको छ, तर दैनिकी भने निकै कठिन बनाइदिएको छ।”

Facebook Comments Box