चक्रपथ निर्माण अन्तिम चरणमा, छ वर्षपछि काम पूरा हुनलाग्यो

मुस्ताङ, ३० कात्तिक – घरपझोङ गाउँपालिकास्थित थाक–पाँचगाउँ जोड्ने १०.५ किलोमिटर लम्बाईको चक्रपथ सडक निर्माण अन्तिम चरणमा पुगेको छ। विसं २०७६ असारमा बन्दना भगवती निर्माण सेवासँग गरिएको ठेक्का सम्झौतापछि करिब ६ वर्षमा आएर काम सम्पन्नतिर पुगेको हो।

गण्डकी प्रदेशको ‘एक निर्वाचन, एक सडक’ योजनाअन्तर्गत मुस्ताङ सदरमुकाम जोमसोमदेखि ठिनी, ढुम्बा, छैरो, चिमाङ, मार्फा र स्याङ हुँदै जोडिनेगरी पूर्वाधार विकास कार्यालयले परियोजना अघि बढाएको थियो। घरपझोङको कालीगण्डकी नदीपारिका ग्रामीण बस्तीलाई यातायात पहुँचमा ल्याउने उद्देश्यले ५ किमी जोमसोम–ढुम्बा खण्ड कालोपत्र र ढुम्बादेखि छैरो–चिमाङ हुँदै मार्फा मुख्य राजमार्गसम्म ५.५ किमी ग्राभेल सडक निर्माण गरिएको सूचना अधिकारी इञ्जिनियर घनश्याम रोकामगरले जानकारी दिए।

बारम्बार म्याद थपिएको परियोजना

निर्माण कम्पनीको ढिलासुस्तीका कारण परियोजना लामो समय अधुरै रह्यो। २०७७ माघमै सकिनुपर्ने सडक कोरोना महामारी, प्रतिकूल मौसम र हिमपात लगायतका कारण देखाउँदै ७ पटक म्याद बढाइएको थियो। घरपझोङ–१, २, ४ र ५ जोड्ने चक्रपथको लागत २४ करोड ४५ लाख ७४ हजार रुपैयाँ छ। निर्माण अन्तिम चरणमा पुगेको र चालु आर्थिक वर्षभित्रै सडक कार्यालयलाई हस्तान्तरण गर्ने तयारी रहेको रोकामगरले बताए। हाल भौतिक प्रगति ९३ प्रतिशत र वित्तीय प्रगति ८८ प्रतिशत पुगेको छ।

बाँकी काम अन्तिम चरणमा

चक्रपथ अन्तर्गत ६ किमी नाली निर्माण र ५ किमी खण्ड कालोपत्र भइसकेको छ। ढुम्बातालदेखि छैरो–चिमाङसम्म चट्टान काटेर नयाँ ट्रयाक खोलिएको र पाँच मिटर चौडा ग्राभेल सडक विस्तारसमेत पुरा भएको कार्यालयले जनाएको छ।सडकमा ट्राफिक सङ्केत पोल गाड्ने, नाली सफाइ, र जोखिमयुक्त स्थानमा बार हाल्ने कार्य चलिरहेको छ।

चक्रपथ सडक सञ्चालनसँगै ठिनी, ढुम्बा, छैरो, चिमाङलगायत गाउँ मुख्य सडक सञ्जालमा जोडिएका छन्। यसले त्यहाँका किसानका स्याउ, तरकारी, अन्नबाली तथा फलफूलको ढुवानी सहज बनेको स्थानीयले बताएका छन्।

Facebook Comments Box