बारा र पर्सामा लक्षित जनसङ्ख्याको ७१ प्रतिशतले हैजाविरुद्धको खोप पाए
काठमाडौँ, १ कात्तिक – बारा र पर्सा जिल्लामा सञ्चालन गरिएको हैजाविरुद्धको खोप अभियानअन्तर्गत लक्षित जनसङ्ख्याको ७१ प्रतिशतले खोप लिइसकेका छन्।
स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार दुवै जिल्लामा कुल १० लाख १८ हजार ६० जनालाई लक्षित गरिएको अभियानमा हालसम्म सात लाख २३ हजार ८३६ जनाले खोप प्राप्त गरेका छन्।
खोप शाखाले उपलब्ध गराएको प्रारम्भिक तथ्याङ्कअनुसार पर्सामा हैजा खोप अभियान सुरु भएको छैठौँ दिनसम्ममा छ लाख ५२ हजार १२९ लक्षित जनसङ्ख्यामध्ये चार लाख ५६ हजार ७७८ जनाले खोप लिइसकेका छन्। त्यसैगरी बारामा तीन लाख ६५ हजार ९३१ जनामध्ये दुई लाख ६७ हजार ५८ जनाले खोप लगाएका छन्।
पर्सामा फैलिएको हैजा महामारी नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले तत्काल खोप अभियान सञ्चालन गरेको हो। पर्साका सबै स्थानीय तह र त्यससँग सिमाना जोडिएका बाराका छ स्थानीय तह—कलैया उपमहानगरपालिका, जितपुर–सिमरा उपमहानगरपालिका, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गाउँपालिकामा एक वर्षभन्दा माथिका सबैलाई खोप दिइँदैछ।
असोज २६ देखि पर्सा र २७ देखि बारामा सुरु भएको यो अभियान हाल सबै स्थानीय तहमा उत्साहका साथ सञ्चालन भइरहेको खोप शाखा प्रमुख डा. गौतमले जानकारी दिनुभयो।
उहाँका अनुसार, “अहिलेसम्मको प्रगति सन्तोषजनक छ, अभियानलाई भोलिसम्म निरन्तरता दिइनेछ र आवश्यकता अनुसार तिहारपछि दोस्रो चरणमा विस्तार गर्ने तयारी छ।”
नेपाल सरकारले पर्सा र बारामा देखिएको हैजा जोखिमलाई न्यूनीकरण गर्नका लागि यो खोप अभियान सञ्चालन गरेको हो। खोप कार्यक्रम सरकारी तथा गैरसरकारी निकाय, मन्दिर, मस्जिद, विद्यालय, बसपार्क, नेपाल–भारत सिमानाका नाका, उद्योग, कारखाना र इँटाभट्टाजस्ता स्थानहरूमा सञ्चालन भइरहेको छ।

