स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचन सुनिश्चित गर्न वातावरण बनाऔँ : राष्ट्रपति पौडेल
काठमाडौँ, १ कात्तिक – राष्ट्रपति रामचन्द्र पौडेलले देशभर भयरहित वातावरणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुने विश्वास जनाउन सरकार र सुरक्षा निकायका प्रमुखहरूलाई आग्रह गर्नुभएको छ।
राष्ट्रपति भवन शीतल निवासमा आज अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्री र चारै सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा भएको छलफलमा राष्ट्रपति पौडेलले राजनीतिक दल र आम नागरिकमा विश्वास जगाउने खालको सुरक्षा व्यवस्था गर्न निर्देशन दिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो।
उहाँले शान्ति–सुरक्षा कायम गर्न तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकायले समन्वयपूर्ण र प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। साथै, भदौ २४ गते लुटिएका हतियार र फरार कैदीबन्दीहरूलाई तत्काल नियन्त्रणमा लिन पनि उहाँले सरकार र सुरक्षा निकायलाई निर्देशन गर्नुभएको हो।
अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र सुरक्षित वातावरणमा निर्वाचन गराउन सरकारले कुनै कमी हुन नदिने बताउनुभयो। उहाँका अनुसार, सरकार पूर्ण तयारीमा छ र सुरक्षासम्बन्धी सम्पूर्ण साधन–स्रोत उपलब्ध गराउन प्रतिबद्ध छ।
सुरक्षा निकायका प्रमुखहरूले विगतमा पनि कठिन परिस्थिति बीच सफलतापूर्वक निर्वाचन सम्पन्न गरेको अनुभव स्मरण गर्दै यसपटकको निर्वाचनलाई पनि शान्तिपूर्ण र भयरहित ढङ्गले सम्पन्न गर्न सक्षम रहेको विश्वास दिलाउनुभयो।
छलफलमा प्रधानमन्त्री कार्कीका साथै अर्थमन्त्रीबाहेक सबै मन्त्री, प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक चन्द्र कुँवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की सहभागी हुनुहुन्थ्यो।

