घर आँगनकै फूल आम्दानीको स्रोत बन्दै

महोत्तरी, २७ असोज – तिहार नजिकिँदै गर्दा महोत्तरीका स्थानीयवासीहरूका लागि घर आँगनकै फूल आम्दानीको स्रोत बन्दै गइरहेको छ। यस वर्ष व्यापारीहरूले फूलका लागि अग्रिम रकम (बैना) दिन थालेपछि यहाँका गृहिणीहरू निकै उत्साहित छन्।

भङ्गाहा–५ राजपुरकी गृहिणी हरिप्रिया महतो भन्छिन्, “के छन् र त्यही ५० जति सयपत्रीका बोट होलान् घर वरिपरी, व्यापारीले अहिले नै एक हजार बैना थमाएर गए। दिपावलीताका फुल्ने गरी लगाउने हो भने त राम्रै आम्दानी हुने रहेछ।” उनकी छिमेकी रामवती चौधरी पनि फूलबाटै नगद आर्जन गर्न पाउँदा खुसी छिन्।

“पहिले त सोचिनँ, फूलबाट पैसा पाइन्छ भनेर। अहिले घरमै व्यापारी आएर पैसा दिएपछि मेरो बटुवा धनी भयो,” उनी भन्छिन्। आफ्ना करेसामा रहेका करिब ६०–६५ सयपत्री र १५–१६ मखमली बोटबाटै करिब दुई हजार रुपैयाँ कमाएको उनले बताइन्। अबको दिपावलीका लागि उनले २०० बोट फूल फुलाउने लक्ष्य लिएकी छन्।

मिथिला क्षेत्रमा दीपावली विविध प्रकारका फूलका माला र झिलिमिली बत्तीहरूको पर्वका रूपमा मनाइन्छ। काग पूजा, लक्ष्मी पूजा, गोधन र भैयादुजसम्मका धार्मिक विधिहरूका लागि चाहिने फूलको माग चुलिँदै जाँदा स्थानीयको फूल बिक्रीबाट राम्रो आम्दानी हुन थालेको हो।

पर्वअघि बस्ती–बस्तीमा फूल खोज्दै हिँड्ने व्यापारीहरूले सोचेभन्दा बढी मूल्य दिन थालेपछि धेरै परिवार फूल खेतीप्रति आकर्षित भएका छन्। यद्यपि हालसम्म जिल्लामा व्यावसायिक फूल खेती विस्तार व्यापक रूपमा भइसकेको छैन, कृषि विज्ञहरू यसको विशाल सम्भावना रहेको बताउँछन्।

कृषि ज्ञान केन्द्र महोत्तरीका सूचना अधिकारी अविरल महतोका अनुसार, “दीपावली, छठ, धार्मिक अनुष्ठान र सालभर हुने पूजा–पाठ तथा सामाजिक कार्यक्रमहरूलाई लक्षित गरी व्यावसायिक फूल खेती सुरु गर्न सके जिल्लाका किसानका लागि भरपर्दो आम्दानीको नयाँ बाटो खुल्न सक्छ।”

Facebook Comments Box