बागलुमा यस वर्ष करिब एक अर्ब ९४ करोड ६० लाख रुपैयाँ बराबरको आलु उत्पादन
बागलुङ, २७ असोज – बागलुङ जिल्लामा यस वर्ष करिब एक अर्ब ९४ करोड ६० लाख रुपैयाँ बराबरको आलु उत्पादन भएको छ। यहाँका किसानले बर्खे र हिउँदे गरी वर्षमा दुई याममा आलुखेती गर्दै आएका छन्। कृषि ज्ञान केन्द्र बागलुङका अनुसार, हिउँदेभन्दा बर्खे आलुको उत्पादन बढी हुने गरेको छ। आलु उत्पादनका हिसाबले जिल्लाको माथिल्लो क्षेत्र विशेष रूपमा उपयुक्त रहेकाले हरेक वर्ष करोडौँ मूल्य बराबरको आलु उत्पादन हुने गरेको छ।
यस वर्ष जिल्लाका तमानखोला, ताराखोला, निसीखोला, काठेखोला गाउँपालिका, ढोरपाटन र गलकोट नगरपालिकालगायत क्षेत्रमा २,८६० हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको थियो। उक्त क्षेत्रबाट ५५ हजार ६०० मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीले जानकारी दिनुभयो।
गत वर्ष ३,७०० हेक्टर क्षेत्रफलमा ५६ हजार २४० मेट्रिक टन आलु उत्पादन भएको थियो। यस वर्ष खेती गरिएको क्षेत्र ८४० हेक्टरले घटेकाले उत्पादनमा पनि केही कमी आएको अधिकारीले बताए। उत्पादित आलुको मूल्य प्रतिकिलो ३५ रुपैयाँ निर्धारण गरिएको छ। केन्द्रका अनुसार, आर्थिक वर्ष २०८०/८१ मा २ करोड ६० लाख रुपैयाँ, २०८१/८२ मा १ करोड ५९ लाख रुपैयाँ र चालु आर्थिक वर्षमा ५५ लाख ९० हजार रुपैयाँ लागतमा नयाँ क्षेत्र विस्तार गरिएको छ।
अधिकारीका अनुसार, “बागलुङको माथिल्लो क्षेत्र आलुखेतीका लागि अत्यन्तै उपयुक्त हावापानी भएको क्षेत्र हो। यहाँको ‘खायन आलु’ राम्रो गुणस्तरको उत्पादनका लागि चिनिन्छ। अहिले किसान उत्साहित छन्, र हामी तीन वर्षदेखि यस क्षेत्रको विस्तार तथा उत्पादन वृद्धिमा जुटिरहेका छौँ।”
उहाँले थप्नुभयो, “खायन आलु खेतीमा नयाँ प्रविधि, मलखाद व्यवस्थापन, सिँचाइ प्रणाली सुधार र उन्नत बीउको प्रयोगमार्फत उत्पादकत्व बढाइनेछ। यस वर्ष थप ४३ हेक्टर क्षेत्रफलमा खायन आलु लगाउने लक्ष्य छ।” बागलुङमा उत्पादन भएको आलु मुख्य रूपमा बागलुङ, बुटवल, चितवनलगायतका सहरहरूमा बिक्री हुने गरेको छ।
गत वर्ष किसानले हिउँदे आलु प्रतिकिलो ४० रुपैयाँ र बर्खे आलु ५० रुपैयाँमा बिक्री गरेका थिए, तर यस वर्ष मूल्य घटेर ३५ रुपैयाँमा झरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। लामो समयको खडेरी र मौसमीय असन्तुलनका कारण यस वर्ष आलु उत्पादनमा केही गिरावट आएको पनि केन्द्रले स्पष्ट पारेको छ।

