इलाममा एक सय ४६ मिलिमिटर वर्षा
काठमाडौँ, २९ साउन
देशभर मनसुन सक्रिय भएसँगै पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा इलाममा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार साँझसम्मको अवलोकनमा इलामको कन्याममा १४६ मिलिमिटर वर्षा मापन गरिएको छ।
त्यसपछि झापाको बाहुनडाँगीमा १३५ मिलिमिटर, अनारमनीमा १२५ मिलिमिटर, सुनसरीको चतरामा ११२ मिलिमिटर, उदयपुरको गाईघाटमा ११४.४ मिलिमिटर, कास्कीमा १२४ मिलिमिटर र सिन्धुपाल्चोकको गोब्रेमा १०८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ। यी सबै स्थानमा धेरै भारी वर्षा भएको बताइएको छ।
अन्य नौ मापन केन्द्रमा ८० देखि १०० मिलिमिटर वर्षा र करिब ५० भन्दा बढी केन्द्रमा ५०–६० मिलिमिटर वर्षा मापन गरिएको छ। दार्चुला, डोटी, जुम्ला, बाजुरा, जाजरकोट, रुकुम, पर्वत, सुर्खेत, गुल्मी, रुपन्देही, नुवाकोट, मकवानपुर, दोलखा, बारा, काठमाडौँ, ओखलढुङ्गा, सङ्खुवासभा, धनकुटा, धनुषा, उदयपुर, झापा लगायतका जिल्लामा पनि वर्षा भएको छ। मङ्गलबारदेखि पुनः सक्रिय भएको मनसुनका कारण बुधबार देशभर बदली भई धेरै ठाउँमा वर्षा भएको हो।
विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर छ, जसका कारण आगामी २४ घण्टा पश्चिमी क्षेत्रमा मनसुन अझ सक्रिय रहनेछ। हाल देशभर पूर्ण बदली रहेको छ भने कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

