अवरुद्ध मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने

इलाम, २७ असोज – असोज १८ गतेको वर्षापछि अवरुद्ध मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने भएको छ। लगातार पहिरो र सडक भासिँदै गएपछि मर्मत कार्य जटिल बनेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो।

उहाँका अनुसार, “सडक खुलाउने प्रयास निरन्तर भइरहेको छ, तर भू–संरचनाको जटिलता र निरन्तर भूस्खलनका कारण तत्काल सञ्चालनमा ल्याउने अवस्था छैन।” सडक अवरुद्ध भएपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रुहरू नौ दिनदेखि आवागमनमा समस्यामा परेका छन्। यसबीच, प्रशासनले वैकल्पिक मार्ग पहिचान गरी साना सवारी सञ्चालनको तयारी थालेको छ।

हालका लागि तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल रुटमा साना सवारी सञ्चालन भइरहेको छ भने सोमबारदेखि तिल्केनी–सिमलगो सडकखण्ड हुँदै साना सवारी चलाउने तयारी गरिएको प्रजिअ नेपालले बताउनुभयो।

“तिल्केनी–सिमलगोलाई जोड्ने जोगमाई खोलामा ह्युमपाइप राखेर डाइभर्सन बनाउने काम आइतबारदेखि सुरु भएको छ,” उहाँले जानकारी दिनुभयो, “सो सडक सोमबारदेखि साना सवारीका लागि सञ्चालनमा आउनेछ।” तर ठूला तथा मालवाहक सवारीका लागि उपयुक्त वैकल्पिक मार्ग भने हालसम्म पहिचान हुन सकेको छैन। वैकल्पिक सडकहरू साँघुरा र तीव्र मोड भएका कारण ठूला सवारीका लागि जोखिमपूर्ण रहेको अधिकारीहरूको भनाइ छ।

यसैबीच, सडक डिभिजन कार्यालय इलामले राजदुवाली सडकखण्ड पुनःनिर्माण अस्थायी रूपमा स्थगन गरेको छ। “राजदुवालीमा भूसंरचनागत समस्या भएकाले तत्कालका लागि स्रोतसाधन वैकल्पिक मार्गमा परिचालन गरिएको छ,” सूचना अधिकारी इञ्जिनियर अर्जुन घिमिरेले बताउनुभयो।

पुवाखोलामा स्थानीयद्वारा काठको पुल निर्माण

इलाम नगरपालिका–९ भाङटार र वडा नं. ११ सोयाक जोड्ने पुवाखोलामा स्थानीयले श्रमदानमार्फत काठको मोटरेबल पुल निर्माण गरेका छन्। गत असोज १८ गतेको भीषण वर्षाले बाढी ल्याउँदा सो स्थानको बेलिब्रिज बगाएपछि, गाउँलेहरूले वैकल्पिक रूपमा पुल बनाउन थालेका थिए।

स्थानीय युवा रोशन राईको नेतृत्वमा सोयाकबासी र नेपाली सेनाको सहयोगमा ५० फुट लामो र आठ फिट चौडाइको काठको पुल पाँच दिनको श्रमदानमा तयार गरिएको हो। “सदरमुकामसँग सडक सम्पर्क विच्छेद भएपछि तत्काल आवतजावतका लागि हामीले काठको पुल निर्माण गरेका हौँ,” अभियानका नेतृत्वकर्ता राईले बताउनुभयो।

Facebook Comments Box