सडक अवरुद्ध हुँदा आपतकालीन अवस्थामा स्वास्थ्य सेवा प्रवाह गर्न चुनौती

विराटनगर, २० असोज – अविरल वर्षाका कारण कोशी प्रदेशमा डुबान, पहिरो र जनधनको क्षति बढ्दै जाँदा स्वास्थ्य सेवा प्रवाहमा थप चुनौती उत्पन्न भएको छ । गत शुक्रबारदेखि आइतबारसम्मको वर्षाले प्रदेशभरका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा आपतकालीन अवस्थाका बिरामीलाई उपचारमा कठिनाइ भएको हो ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार मोरङ जिल्लामा मात्रै करिब २५ देखि ३० परिवार विस्थापित भएका छन् । “वर्षासँगै स्वास्थ्य जोखिम पनि उच्च बनेको छ,” निर्देशक बस्नेतले भन्नुभयो, “दसैँ सुरु हुनुअघि नै सम्भावित जोखिमका बारेमा सतर्क रहन सबै अस्पताल र स्वास्थ्य संस्थालाई निर्देशन दिइएको थियो । कर्मचारीलाई आलोपालो खटाइएको छ र आवश्यक औषधि तथा सामग्रीको अग्रिम तयारी पनि गरिएको छ ।”

इलाम क्षेत्रमा सडक सम्पर्क अवरुद्ध हुँदा बिरामीलाई उपचारमा कठिनाइ भएको उहाँले बताउनुभयो । “इलामतर्फ सडक अवरुद्ध भएकाले स्थानीय स्वास्थ्य संस्थाले प्राथमिक उपचार गरिरहेका छन्,” उहाँले भन्नुभयो, “जटिल अवस्थाका बिरामीलाई हेलिकप्टरमार्फत इटहरी ल्याएर उपचार गरिएको छ । आइतबार मात्रै प्रसूति पीडामा रहेकी एक महिलालाई हेलिकप्टरमार्फत ल्याएर सुरक्षित प्रसूति गराइएको छ ।”

बस्नेतका अनुसार आपतकालीन स्वास्थ्य सेवा अबाधित राख्न द्रुत प्रतिक्रिया टोली प्रदेशभर सक्रिय छन् । संघीय तथा प्रदेशस्तरीय स्वास्थ्य क्लस्टरसँग निरन्तर समन्वय भइरहेको उनले जानकारी दिनुभयो । “सोमबार बिहान ८ बजे प्रदेशस्तरीय बैठक बोलाइएको छ,” उहाँले बताउनुभयो, “१४ वटै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख, अस्पतालका प्रतिनिधि, आपूर्ति व्यवस्थापन केन्द्र र जनस्वास्थ्य प्रयोगशालाका प्रमुख सहभागी हुनेछन् ।

बैठकमा स्वास्थ्य मन्त्री र सचिवसमेत उपस्थित हुनेछन् ।” सडक अवरुद्धका कारण बिरामीलाई सदरमुकाम ल्याउन र मृतकको शव परीक्षण गर्न कठिनाइ भइरहेको उहाँले बताए । तर सम्भव भएसम्म स्वास्थ्यकर्मीलाई प्रभावित क्षेत्रमा खटाइएको निर्देशनालयले जनाएको छ । प्रदेश विपद् व्यवस्थापन समितिसँगको निरन्तर समन्वयमा औषधि आपूर्ति, शव व्यवस्थापन, राहत वितरण र रोग नियन्त्रणका विषयमा प्राथमिकताका साथ छलफल भइरहेको पनि उनले उल्लेख गरे ।

यसैबीच, कोशी अस्पतालका फिजिसियन डा. रोशन खड्काले बाढीपछि संक्रामक रोग फैलिन सक्ने जोखिम उच्च भएको बताउनुभएको छ । उहाँका अनुसार झाडापखाला, डायरिया, हैजा लगायतका पानीजन्य रोग फैलिन सक्ने सम्भावना बढी छ ।

डा. खड्काले प्रभावित परिवारलाई उमालेको पानी पिउन, सरसफाइमा विशेष ध्यान दिन र सुरक्षित खाना मात्र सेवन गर्न सुझाव दिनुभएको छ । “पानीमा लामो समय रहँदा रुघाखोकी र ज्वरोका बिरामी बढेका छन्,” उहाँले भन्नुभयो, “आवश्यक कामबाहेक घरबाहिर ननिस्कनु नै बुद्धिमानी हुन्छ ।”

उहाँले स्वास्थ्य समस्या देखिए आफैंँले औषधि सेवन नगरी नजिकैको स्वास्थ्य संस्थामा तुरुन्त जान आग्रह गर्नुभयो । “आफुखुसी औषधि सेवनले जटिलता बढाउन सक्छ,” उहाँले चेतावनी दिनुभयो, “समस्या देखिए स्वास्थ्यकर्मीको सल्लाह लिन ढिला गर्नु हुँदैन ।”

Facebook Comments Box