निर्वाचन ३३ दिन बाँकीः आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

काठमाडौँ, १७ माघ – निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना गतिविधि अघि बढाएको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याइएको आयोगले जनाएको छ ।

आचारसंहिताको पूर्ण पालना गराउन आयोगले सरोकारवाला सबै पक्षलाई निरन्तर ध्यानाकर्षण गराउँदै आएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरी तथा सूचनाका आधारमा हालसम्म राजनीतिक दल, उम्मेदवार र संस्था गरी २१ वटासँग स्पष्टीकरण सोधिएको छ ।

त्यसमध्ये पाँच वटाको मात्र जवाफ प्राप्त भएको र बाँकीको जवाफका लागि ताकेता भइरहेको आयोगले जनाएको छ । आचारसंहिता उल्लङ्घन हुने गरी मिथ्या, भ्रमपूर्ण तथा घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न तथा गैरकानुनी कार्यमा संलग्न व्यक्ति वा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनी दायरामा ल्याउने पहल भइरहेको आयोगले जनाएको छ ।

आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सूचना सदाचार प्रवर्द्धन इकाइ पूर्ण रूपमा क्रियाशील रहेको आयोगको भनाइ छ । उक्त इकाइले पहिचान गरेका कूल ३०२ हानिकारक सूचना निर्वाचन आचारसंहिता, २०८२, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ तथा प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

निर्वाचनको मर्यादा र स्वच्छतामाथि प्रश्न उठ्ने गरी कुनै गतिविधि भएमा आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश वा जिल्ला निर्वाचन कार्यालय तथा जिल्ला आचारसंहिता अनुगमन अधिकृतसमक्ष लिखित, मौखिक तथा विद्युतीय माध्यमबाट उजुरी दिन सकिने आयोगले स्पष्ट पारेको छ ।

Facebook Comments Box