आजदेखि सुरु हुँदै नेपाल भलिबल लिग, उद्घाटन खेलमा सगरमाथा र मधेश भिड्दै

काठमाडौँ, १९ भदौ – पुरुष भलिबलको बहुप्रतीक्षित फ्रेन्चाइज प्रतियोगिता नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करण आजदेखि काठमाडौँमा सुरु हुँदैछ। नेपाली भलिबललाई व्यावसायिक तथा फ्रेन्चाइज मोडलमा अघि बढाउने लक्ष्यसहित आयोजना गरिएको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्दैछन्।

केडिया ग्रुपको आयोजनामा हुने लिगको उद्घाटन खेलमा आज सगरमाथा स्म्यासर्स र मधेश वारियर्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुने खेल अपराह्न ४ बजे सुरु हुनेछ। पहिलो दिनको दोस्रो खेलमा अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराज आमनेसामने हुनेछन्। उक्त खेल साँझ ७ बजे सुरु हुनेछ।

एनभीएलमा सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौँ रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स, कर्णाली शिवराज र खप्तड फाल्कन्स सहभागी छन्। लिग चरणमा ६ टोलीले सिंगल राउन्ड रोबिन प्रणालीमा प्रतिस्पर्धा गर्नेछन्। लिग चरणमा १५ खेल हुनेछन्। लिग चरणको अन्त्यमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ। दोस्रो र तेस्रो स्थानमा रहने टोलीले प्लेअफ खेल्नेछन् र त्यसको विजेताले फाइनलमा स्थान बनाउनेछ। फाइनल भदौ २७ गते हुनेछ।

विजेतालाई २० लाख पुरस्कार

एनभीएलको पहिलो संस्करणको विजेता टोलीले रु २० लाख नगद पुरस्कार प्राप्त गर्नेछ। आयोजकका अनुसार यो नेपाली घरेलु भलिबलको इतिहासमै सर्वाधिक पुरस्कार राशि हो। प्रतियोगिताको कुल पुरस्कार राशि रु ३२ लाख रहेको छ। कुल पुरस्कार रकममध्ये बाँकी रु १२ लाख उपविजेता, विधागत अवार्ड तथा प्लेअर अफ द म्याचलगायतका पुरस्कारमा खर्च गरिनेछ।

१० देशका विदेशी खेलाडीको सहभागिता

एनभीएलको पहिलो संस्करणमा विभिन्न देशका विदेशी खेलाडीसमेत सहभागी हुँदैछन्। ६ फ्रेन्चाइज टोलीमा १८ विदेशी खेलाडी रहने आयोजकले जनाएको छ। पाकिस्तान, भारत, मंगोलिया, इरान, रुस, पोल्यान्ड, बेलारुस, सर्विया, ब्राजिल र बेनिनलगायत देशका खेलाडी प्रतियोगितामा सहभागी हुनेछन्।

विदेशी खेलाडीको सहभागिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग घरेलु कोर्टमै प्रतिस्पर्धा गर्ने अवसर मिल्ने अपेक्षा गरिएको छ। यसबाट नेपाली पुरुष भलिबलको स्तर र व्यावसायिकतामा समेत सुधार आउने आयोजकको विश्वास छ।

पहिलो दिनको टिकटबाट उठेको रकम बाढीपीडितलाई

आयोजकले एनभीएलको पहिलो दिनको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेको छ। विशेषगरी रसुवा–नुवाकोट क्षेत्रका बाढीपीडितलाई सहयोग पुग्ने गरी रकम प्रदान गरिने जनाइएको छ।

फ्रेन्चाइज टोली, खेलाडी अक्सन, विदेशी खेलाडीको सहभागिता र आकर्षक पुरस्कारका कारण एनभीएलको पहिलो संस्करणलाई नेपाली भलिबलमा नयाँ अध्यायका रूपमा हेरिएको छ। ६ वटै फ्रेन्चाइज टोलीले ट्यालेन्ट हन्टमार्फत १९ वर्षमुनिका एक–एक खेलाडीलाई टोलीमा समावेश गरेका छन्। नयाँ प्रतिभावान् खेलाडीका लागि राष्ट्रिय तथा विदेशी खेलाडीसँग एउटै कोर्टमा खेल्ने र सिक्ने अवसरका रूपमा पनि एनभीएललाई हेरिएको छ।

Facebook Comments Box