बीपी राजमार्गमा बगेको डाइभर्सन पुनर्निर्माण सुरु

काभ्रेपलाञ्चोक, २० असोज – असोज १८ र १९ गतेको अविरल वर्षापछि आएको रोशी खोलाको बाढीले बगाएको बीपी राजमार्गको डाइभर्सन पुनर्निर्माण कार्य सुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार नेपालथोकबाट डाइभर्सन निर्माण कार्य अघि बढाइएको छ । सडक डिभिजन कार्यालय खाल्डेले अहिले २ वटा स्काभेटर प्रयोग गरी खोलाको धार परिवर्तन गर्दै डाइभर्सन पुनः निर्माणको काम गरिरहेको जनाएको छ ।

यसअघि सडक डिभिजन कार्यालय भक्तपुरले नमोबुद्ध र रोशी गाउँपालिकाको सिमानास्थल चौकीडाँडाबाट बगेको डाइभर्सन बनाउन काम सुरु गरिसकेको थियो ।

रोशी खोलाले बीपी राजमार्गको नेपालथोकतर्फको भाग कटान गरेपछि हाल सवारीसाधनहरू वैकल्पिक रूपमा खुर्कोट–मन्थली हुँदै अरनिको राजमार्ग र सिन्धुली–हेटौंडा मार्गमार्फत काठमाडौं आवागमन गर्दै आएका छन् ।

Facebook Comments Box