मुग्लिन–नारायणगढ सडक बिहानदेखि सञ्चालनमा, यात्रुहरुलाई सतर्क रहन आग्रह
काठमाडौँ, १९ असोज – चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा आज बिहान ६ बजेदेखि सवारीसाधन सञ्चालनमा आएका छन् । लगातारको वर्षाका कारण अवरुद्ध भएको सो सडक अहिले अवरोधमुक्त भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार असोज १७ र १८ गतेको अविरल वर्षापछि विभिन्न स्थानमा पहिरो खस्दा सडक आवागमन रोकिएको थियो । अहिले सडक खुल्ला भए पनि जमिन भिजेर कमजोर भएकाले कुनै पनि बेला ढुंगा खस्न सक्ने सम्भावना रहेकाले सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ ।
प्रहरीले यात्रु तथा सवारी चालकहरुलाई बेलुका ९ बजेपछि उक्त सडक प्रयोग नगर्न अनुरोध गरेको छ । चितवन हुँदै यात्रा गर्नेहरुलाई बेलुका ९ बजेसम्म चितवन आइपुग्न तथा पोखरा वा काठमाडौँतर्फ गइरहेका सवारीसाधनलाई पनि सो समयमा चितवनको सीमा पार गर्न सुझाव दिइएको छ । हिजो राति ९ बजेपछि चितवन आइपुगेका सवारीसाधनलाई प्रहरीले आँपटारी क्षेत्रमा रोकेर आज बिहान ६ बजेदेखि गन्तव्यतर्फ जान दिएको जनाएको छ ।

