सुनसान बन्दै गएको ‘कर्लिम गाउँ’
बागलुङ, २ असोज – “यति धेरै जमिन बाँझो छ, गाउँका घरहरू रित्तिएका छन्, दुःख पर्दा सहयोग गर्ने छिमेकीसमेत छैनन्,” भन्छन् बागलुङ काठेखोला गाउँपालिका–५ कर्लिमका तिलबहादुर कँडेल । छिमेकी बसाइँसराइ गरेर सहरतिर झरेपछि गाउँ सुनसान बनेको देख्दा उनलाई निकै पीडा हुन्छ । कुनै समय चहलपहलले भरिएको कर्लिम गाउँ आज दुई–चार घर मात्र बाँकी छ ।
कँडेलका अनुसार गाउँमा समस्या पर्दा सहयोग माग्ने कोही हुँदैन । बिरामी पारे अस्पताल पुर्याउने मान्छेसमेत भेटिँदैन । त्यसमाथि, खाली भएका घर र बाँझो खेतका कारण गाउँ वरिपरि झाडी फैलिँदै गएको छ भने वन्यजन्तुको आतङ्क पनि बढेको छ । “घर नजिकै बाघ–भालु बस्छन्, हिँडडुलमै डर लाग्छ,” उनी भन्छन् ।
स्थानीय मैना सुवेदी भन्छिन्, “युवाशक्ति नभएकाले खेतीपातीसमेत रोकिएको छ । दशकयता गाउँमा जनसंख्या घट्दै गयो, रमाइलो गर्ने वातावरण हरायो, दुःखसुखमा मान्छे भेटिँदैन ।” उनी राज्यले बसाइँसराइ नियन्त्रणका लागि प्रभावकारी नीति ल्याउनुपर्ने सुझाव दिन्छिन् ।
उनका अनुसार, “गाउँ जाने बाटो झाडीले पुरिएको छ । युवाहरू विदेशिएका छन्, उनीहरूले कमाएको पैसाले परिवारलाई सहरमा सारेका छन् । धनीमानी सबै शहर वा विदेश गए, गाउँमा बाँकी बाँझो जमिन र सुनसान बस्ती मात्रै हो ।”काठेखोलाको कर्लिम मात्र होइन, जिल्लाका धेरै गाउँ यस्तै अवस्थामा छन् । यहाँका अधिकांश युवा जापान, कोरिया, अष्ट्रेलियातर्फ छन् भने उनीहरूको परिवार बागलुङ, पोखरा, काठमाडौं वा चितवनमा बसाइँ सरेका छन् ।
काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले गाउँमा रोजगारी सिर्जना गर्न सीप, प्रविधि र उद्यमसँग जोड्ने कार्यक्रम ल्याइएको जानकारी दिए । “उद्यम गर्न इच्छुक युवालाई अनुदान र प्रविधिक सहयोग दिइरहेका छौँ । गाउँपालिकाको स्रोतले भ्याएसम्म काम गरेका छौँ । तर बसाइँसराइ रोक्न सबैको सहयोग जरुरी छ,” अध्यक्ष थापाले भने ।

