कांग्रेसले माओवादीलाई र माओवादीले कांग्रेसलाई भोट हाल्न गाह्रो माने : प्रचण्ड
काठमाडौं, २३ वैशाख – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदाता र गठबन्धनभित्रका पार्टीका कार्यर्कालाई प्रशिक्षित गर्न नसकिएको बताएका छन्।
काठमाडौंको शान्ति बाटिकामा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने,‘सुरुको अनुभवले के देखायो भने, आम मतदाता र गठबन्धनभित्रका पार्टीका कार्यकर्ता धेरै प्रशिक्षित गर्न सकिएन्। शिक्षित, दीक्षित गर्न सकिएन्।’
कांग्रेसले माओवादीलाई र माओवादीले कांग्रेसलाई भोट हाल्न गाह्रो मानेको देखिएको उनले बताए। ‘रुखवालाहरुले हँसियाहथौडा वालामा भोट हाल्न गाह्रो मानेको देखियो।
अनि हंसिया हथौडावालाले रुखमा भोट हाल्न मानेको देखिएन्,’ उनले भने,‘अनि त परिस्थिति बडो गम्भीर, नमिठो अनुभव पहिल्यैदेखि भयो।’ उनले बरु वामपन्थीहरुको एकता हुँदा सहज हुन्छ कि भनेर शेरबहादुर देउवासँग सल्लाह गरेर एमालेसँग एकता गरेको बताए।
‘सजिलो त बरु, वामपन्थी वामपन्थी मिल्दा त हँसियाहथौडामा भोट हाल्न पनि सजिलो, जनतालाई बुझ्न पनि सजिलो, अनि राजनीतिक स्थायीत्व पनि आउला भनेर,’ प्रचण्डले अघि भने, ‘मैले नै प्रस्ताव गरेर शेरबहादुरजीसँग सल्लाह गरेर, निर्वाचन परिणाम राम्रो देखिएन मैले त वाम गठबन्धन गर्यो भने जनता र कार्यकर्तालाई पनि सजिलो भन्ने सोचेँ। यो पूरै देशलाई थाहा छ।’

