नावा खोलामा बाढी आएपछि तमोर कोरिडोर अवरुद्ध
फिदिम, २५ असार – अविरल वर्षापछि धनकुटा र पाँचथरको सीमामा बग्ने नावा खोलामा पानीको बहाव उच्च हुँदा तमोर कोरिडोर अवरुद्ध भएको छ। सुनसरीको धरानदेखि धनकुटाको मुलघाट हुँदै पाँचथर र ताप्लेजुङ जोड्ने यो सडक बिहीबार बिहान करिब ५ः३० बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
प्रहरीका अनुसार पाँचथरको तुम्बेवा गाउँपालिका–२ स्थित नावा खोलामा पानीको सतह एक्कासि बढेपछि खोलामाथिको सडक डुबानमा परेको छ। त्यसपछि सवारीसाधन सञ्चालन पूर्ण रूपमा रोकिएको हो। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले निरन्तर वर्षासँगै आएको बाढीका कारण सडक तत्काल सञ्चालनमा ल्याउन नसकिएको बताउनुभयो। उहाँले खोलाको बहाव अझै उच्च रहेकाले जोखिमपूर्ण यात्रा नगर्न यात्रु तथा सवारी चालकलाई आग्रह गर्नुभएको छ।
सडक अवरुद्ध भएसँगै पाँचथर, धनकुटा र ताप्लेजुङतर्फको आवागमन प्रभावित भएको छ। बिहानदेखि यात्रुवाहक तथा मालवाहक सवारीसाधन दुवैतर्फ रोकिएका छन्। प्रहरीले वर्षा जारी रहेकाले नदी तथा खोलाको बहाव थप बढ्न सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दा र यात्रुलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
पानीको सतह घटेपछि सडकको अवस्था मूल्याङ्कन गरेर सवारी सञ्चालन पुनः सुचारु गरिने जनाइएको छ। मनसुन सक्रिय भएसँगै पहाडी जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढिरहेको भन्दै जिल्ला प्रशासनले अत्यावश्यकबाहेक यात्रा नगर्न तथा यात्रा गर्नुअघि मौसम र सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ।

