गणेशमान सिंहको २८औँ स्मृति दिवस आज

काठमाडौँ, २ असोज – प्रजातन्त्र पुनःस्थापनाका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । विसं २०४६ को ऐतिहासिक जनआन्दोलनलाई सफल बनाउन निर्णायक नेतृत्व दिएका सिंह नेपाली राजनीतिमा त्याग, साहस र सत्यनिष्ठाको प्रतिमूर्तिका रूपमा स्मरण गरिन्छन् ।

२०४६ को आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न आग्रह गरे पनि उनले त्यो अवसर अस्वीकार गरी कृष्णप्रसाद भट्टराईलाई अघि सारेका थिए । यसै कारण सिंहलाई त्याग र उच्च आदर्शको राजनीतिज्ञका रूपमा चिनिन्छ ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटी चाक्सीबारीमा जन्मिएका गणेशमानले १९९७ सालमा स्थापना भएको प्रजा परिषद्मार्फत राणाशासनविरुद्धको अभियानमा सक्रियता देखाएका थिए । २००७ सालको क्रान्तिमा वीरगञ्ज मोर्चाबाट सशस्त्र सङ्घर्षमा समेत सहभागी भएका उनी पछि नेपाली राष्ट्रिय कांग्रेस (पश्चिमा नेपाली कांग्रेस) का संस्थापक मध्ये एक बने ।

उनको राजनीतिक जीवन निरन्तर संघर्षपूर्ण रह्यो । २०१५ सालको आम निर्वाचनपछि बनेको सरकारमा वरिष्ठ मन्त्री बनेका उनी २०१७ सालमा प्रजातन्त्र अपहरणपछि आठ वर्ष कारावासमा रहे । बिपी कोइरालासँगै २०३३ सालमा मेलमिलाप नीति अवलम्बन गर्दै स्वदेश फर्किएपछि उनले पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय नेतृत्व दिए । २०४२ सालको सत्याग्रहदेखि २०४६ सालको जनआन्दोलनसम्म उनी कांग्रेसको सर्वोच्च नेता र जनआन्दोलनका कमान्डर बनेर उभिएका थिए ।

सिंहको निधन २०५४ साल असोज २ गते भयो । आज उनको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाले राजधानीलगायत जिल्लामा स्मृति कार्यक्रम आयोजना गरिरहेका छन् । आज बिहान ७:४५ बजे शोभाभगवतीस्थित उनको सालिकमा माल्यार्पण कार्यक्रम समेत गरिएको छ ।

Facebook Comments Box