आज वास्तु दिवस र विश्वकर्मा पूजा
काठमाडौँ, १ असोजः आज नेपालभर कालीगढ समुदायले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस तथा विश्वकर्मा पूजा पर्व मनाउँदै छन्। प्रत्येक वर्ष कन्या सङ्क्रान्तिका दिन विशेष विधिपूर्वक विश्वकर्माको पूजा गर्ने परम्परा रहेको छ।
यस दिन विभिन्न कलकारखाना तथा उद्योगमा भगवान् विश्वकर्माको बालुवा वा चित्रमूर्ति स्थापना गरी पूजा आराधना गरिन्छ। कलकारखाना सजाएर मजदुरलाई सहभागी गराई पर्व मनाउने गरिन्छ। पूजापछि बनाइएका मूर्तिहरू सुन्दरीजलसहित शुद्धस्थलमा लगेर सेलाउने परम्परा छ।
धार्मिक विश्वासअनुसार आज औजार तथा उपकरणमा पूजा गरे टिकाउ हुने, बिग्रिन नखाने र राम्रो काम हुने मान्यता छ। द्वापर युगमा भगवान् कृष्णलाई असुरबाट बचाउन विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेको धार्मिक आख्यान प्रचलित छ। एकै रातमा यो अद्भुत निर्माण सम्पन्न गरेकाले उहाँलाई महान् वास्तुविद् मानिन्छ। धर्मशास्त्रीहरूका अनुसार विश्वकर्माले रचेको ‘विश्वकर्मा प्रकाश’ नामक ग्रन्थ वास्तुशास्त्रको मूल आधार मानिन्छ।
यही सम्झनामा आज नेपालभरका कालीगढ र वास्तुविद्हरूले उहाँको सम्मानमा पूजा–आराधना गर्छन्। यस अवसरमा इञ्जिन जडान भएका विभिन्न उपकरण, मेसिन र सवारीसाधनमा पनि पूजा गर्ने चलन छ। पछिल्ला वर्षमा नेपालमा वास्तु विद्याप्रतिको चासो बढ्दै गएको छ। चार उपवेदमध्ये स्थापत्यवेदमा वर्णन भएको वास्तु शास्त्रमा आधारित सहर तथा आवास निर्माण गर्नेहरूको सङ्ख्या बढेसँगै वास्तु दिवसको महत्व अझ प्रस्ट भएको देखिन्छ।

