वाग्मती प्रदेश पूर्ण खोप प्रदेश घोषित
भक्तपुर, १६ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा वाग्मती प्रदेशलाई नेपालकै पहिलो पूर्ण खोपयुक्त प्रदेश घोषणा गरिएको छ।
भक्तपुरमा वाग्मती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले आयोजना गरेको विशेष समारोहमा प्रधानमन्त्री ओलीले १५ महिनाभित्रका बालबालिकालाई अनिवार्य खोप सुनिश्चित भएको आधारमा उक्त घोषणा गरेका हुन्। प्रदेशभरका १३ जिल्लाका ११९ स्थानीय तहमा यो उपलब्धि हासिल भएको जनाइएको छ।
घोषणाको आधार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्र हो, जुन प्रधानमन्त्री ओलीले वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापालाई हस्तान्तरण गरे।
त्यस अवसरमा प्रधानमन्त्रीले ‘डिजिटल हेल्थ कार्यक्रम’ को पनि उद्घाटन गरे। प्रधानमन्त्री ओलीले खोप कार्यक्रमलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यप्राप्तिका लागि ‘निरोगी नेपाल अभियान’ को महत्वपूर्ण खम्बाका रूपमा व्याख्या गरे।
“रोग लाग्न सक्छ, तर हामीले रोग लाग्ने कारण र बाटाहरू बन्द गर्नुपर्छ,” उनले भने, “त्यसको एउटा प्रभावकारी उपाय भनेकै खोप हो। संविधानले स्वास्थ्य सेवालाई मौलिक हक बनाएको छ, र यस अभियानले त्यसको सार्थक कार्यान्वयन देखाएको छ।”
प्रधानमन्त्री ओलीले यो उपलब्धिले सन् २०८३ सम्म नेपाललाई विकासशील मुलुकको श्रेणीमा उकास्ने लक्ष्यमा टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले अन्य प्रदेशहरूलाई पनि वाग्मतीको सफलताबाट प्रेरणा लिन आह्वान गरे।
समारोहमा खोप अभियानमा सक्रिय भूमिका खेलेका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र अन्य कर्मचारीहरूलाई सम्मान गरियो।
कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले खोप अभियानको सफलतालाई स्वास्थ्यकर्मीहरूको निरन्तर प्रयास र जनसहभागिताको प्रतिफल भएको बताए।

