आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, १ असोज – मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास सक्रिय रहनुका साथै अरब सागर र बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव पर्ने हुँदा आज देशभर मौसम अस्थिर हुने देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ।

बागमती र लुम्बिनी प्रदेशका साथै अन्य पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभाग र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित पहाडी भूभागमा साधारण बदली रहनेछ भने अन्यत्र आंशिक बदली हुनेछ। मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका साथै अन्य स्थानका केही भागमा मध्यम वर्षा र कतिपय स्थानमा भारी वर्षा हुने सम्भावना छ।

महाशाखाले वर्षाका कारण पहिरो, गेग्रान बहाव (डेब्रिज फ्लो) तथा नदी–नालामा पानीको सतह बढ्ने जोखिम रहेकाले यातायात र दैनन्दिन क्रियाकलाप प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

Facebook Comments Box