नेपालगञ्ज–नयाँ दिल्ली सिधा उडानका लागि पहल गर्ने परराष्ट्रमन्त्रीको प्रतिबद्धता
काठमाडौँ, २६ साउन
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालगञ्ज–नयाँ दिल्ली सिधा उडान सुरु गर्न सक्दो पहल गर्ने आश्वासन दिएका छन्। आज मन्त्रालयमा बाँके र बर्दियाका सांसद, प्रमुख राजनीतिक दलका नेता, उद्योगी–व्यवसायी, नागरिक समाजका प्रतिनिधि लगायतको सर्वपक्षीय टोलीसँग भेट्दै उनले यो एजेन्डालाई प्राथमिकतामा राखिएको बताए।
उनका अनुसार यस उडानले नेपाल–भारतबीचको कनेक्टिभिटी बढाई पर्यटन, व्यापार, पारवहन र जनसम्पर्कमा उल्लेखनीय फाइदा पुर्याउनेछ।
डा. राणाले नेपालगञ्जमा होटललगायतका पर्यटन पूर्वाधार तयार भइसकेको र पश्चिम नेपालको अर्थतन्त्रमा यसको ठुलो योगदान हुने विश्वास व्यक्त गरिन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा पनि यो विषयलाई प्राथमिक एजेन्डा बनाउन पहल गर्ने प्रतिबद्धता जनाइन्।
सर्वपक्षीय टोलीले नेपालगञ्जलाई “मानसरोवर गेटवे” का रूपमा विकास गर्न यस उडान अपरिहार्य भएको औंल्याउँदै, यसबाट सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका करिब २५ जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने बताए।
उनीहरूका अनुसार नेपालगञ्ज विमानस्थलमा प्रतिघण्टा ६ सय यात्रु सेवा दिन सक्ने क्षमता र आवश्यक सबै पूर्वाधार तयार भइसकेका छन्।

