श्रम मन्त्रालय डिजिटल प्रविधितर्फ उन्मुख
काठमाडौँ, २६ साउन
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आफ्नो सम्पूर्ण कार्य प्रणालीलाई डिजिटल युगसँग मेल खाने गरी रुपान्तरण गर्ने तयारी तीव्र पारेको छ। मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले नयाँ डिजिटल पद्धति थप्दै मन्त्रालय अघि बढिरहेको जानकारी दिनुभयो।
सिंहदरबारमा आयोजित छलफल कार्यक्रममा सचिव पुष्करले श्रम, रोजगार तथा सामाजिक सुरक्षा प्रणालीलाई प्रविधिमार्फत सञ्चालन गर्ने लक्ष्यसहित श्रमचक्रको सम्पूर्ण प्रक्रियालाई समेट्ने ‘डिजिटलाइजेसन ब्लुप्रिन्ट’ कार्यान्वयन हुने बताउनुभयो।
उहाँका अनुसार ‘स्वीस कन्ट्याक्ट’को श्रम संसार र ‘रेमी’ परियोजनाबाट श्रम बजार सूचना प्रणालीको प्राविधिक दस्तावेज कार्यान्वयन गर्दै, ब्युरोक्रेसीलाई ‘डिजिटलक्रेसी’मा रूपान्तरण गर्न लागिएको छ। यस प्रक्रियामा विकास साझेदार एसडिसी, स्वीस कन्ट्याक्ट र रेमी परियोजनाको योगदान महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो।
“अब मान्छे होइन, प्रणाली दौडिने पद्धति विकास हुँदैछ,” सचिव पुष्करले भन्नुभयो, “सीमित स्रोत र साधन हुँदाहुँदै श्रम संसारको प्रयोगलाई व्यापकता दिएका छौँ।”

