गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध

गुल्मी, २३ साउन

लगातारको अविरल वर्षाका कारण गुल्मी जिल्लाको रिडी–वामीटक्सार सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा आएको बाढीले सडकमा ठूलो क्षति पुर्याएपछि बिहानदेखि सो सडक सञ्चालन हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिनुभयो।

डहरे खोलामा लेदो मिसिएको बाढी आएपछि रिडी हुँदै बागलुङको बुर्तिवाङसम्म आवतजावत गर्ने सवारीसाधनहरु रोकिएका छन्। सडक सञ्चालनका लागि जोहाङ्ग खैरेनीबाट प्रहरी टोली परिचालन गरिएको भए पनि वर्षा नरोकिने र पानीको बहाव उच्च भएका कारण सडकमा काम गर्न कठिनाई भइरहेको छ। उक्त खोलाले तीन दिनअघि एक कार बगाएको घटना पनि भएको थियो।

त्यसैगरी, सुक्खा पहिरोको कारण रिडी–खञ्ज्याङ सडक खण्ड पनि अवरुद्ध बनेको छ। रुरुक्षेत्र गाउँपालिका–१ स्थित साँखरमा पहिरो खसेपछि सो सडकमा यातायात प्रभावित भएको हो। लगातार वर्षाका कारण कालीगण्डकी र बडिगाड खोलामा पानीको सतह पनि बढेको छ।

जिल्ला प्रशासन कार्यालयले वर्षाका समयमा तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। गुल्मीमा करिब २०० भन्दा बढी स्थानहरू बाढी र पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

Facebook Comments Box