पहिरोले एक घरमा क्षति, १२ घर जोखिममा
धरान (सुनसरी), २३ साउन
तीन दिनदेखि निरन्तर परेको अविरल वर्षासँगै गएराति आएको पहिरोले धरान उपमहानगरपालिका–३, हृदयेन्द्र मार्गस्थित एक घरमा क्षति पुर्याएको छ भने १२ भन्दा बढी घर उच्च जोखिममा परेका छन्। राति करिब १ः३० बजे खसेको पहिरोले धरान–३ का स्थानीय छजुङ भोटेको घरको माथिल्लो भागमा क्षति पुर्याएको छ।
भोटेले भन्नुभयो, “राति ठूलो आवाज आयो, भुइँचालो आएको हो कि भनेर डर लाग्यो। बाहिर निस्केर हेर्दा पहिरो खसिरहेको देखियो। हेर्दाहेर्दै घरको माथिल्लो भाग पुरियो र घर पूर्ण रूपमा क्षतिग्रस्त भयो।” स्थानीय कौशल श्रेष्ठले वर्षा सुरु भएदेखि पहिरोको त्रासमा रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको बताए।
घटनापछि धरान उपमहानगरपालिका–३ का वडासदस्य मिङ्मा भोटे घटनास्थलमा पुगेर वडाको विपद् व्यवस्थापन बजेट र नगरपालिकाको सहकार्यमा पर्खाल निर्माणलगायतका काम गरिने जानकारी दिनुभयो। उनका अनुसार सो क्षेत्रमा १२ भन्दा बढी घर उच्च जोखिममा छन्।
वडा कार्यालयले हाल क्षतिको विवरण सङ्कलन गरिरहेको छ। गत वर्ष पनि धरान–३ को सोही क्षेत्रमा पहिरोले बस्ती जोखिममा पारेको थियो। त्यतिबेला वडाबाट रु पाँच लाख र नगरपालिकाबाट रु १४ लाख विनियोजित गरी पहिरो रोकथामका कार्यहरू गरिएको थियो।

