राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माणपछि बाढीको जोखिम घट्यो
बाँके, २३ साउन
राप्ती नदी किनारका गाउँहरूमा बारम्बार हुने बाढीको त्रास कम गर्न आपत्कालीन तटबन्ध निर्माण भएपछि स्थानीय बासिन्दा ढुक्क भएका छन्। नरैनापुरका झिंगदेव वर्माले भन्नुभयो, “बाढीले पटक–पटक हामीलाई घरबारविहीन बनाएको थियो, तर अहिले तटबन्ध बनेपछि राहत मिलेको छ।”
झिंगदेवका अनुसार विगतमा चाडबाडमा समेत घरबार डुबान हुँदा ठूलो दुःख सहनुपरेको थियो। सोही गाउँकी रामप्यारी यादवले पनि यस वर्ष बाढीबाट ज्यानमालको क्षति नहुने विश्वास व्यक्त गर्नुभयो। “पहिले महिला, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवतीलाई बढी प्रभावित पार्ने बाढीले अहिले चिन्ता कम भएको छ,” उहाँले भन्नुभयो।
बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका एक दर्जनभन्दा बढी गाउँबस्ती बाढीको उच्च जोखिममा थिए। तर ‘जनताको तटबन्ध कार्यक्रम’ अन्तर्गत सिमेन्टका पोल, बाँस, बालुवा भरिएका प्लास्टिक बोरा र जालीको प्रयोग गरी ४०० मिटर लामो आपत्कालीन तटबन्ध निर्माण गरिएपछि अहिले जोखिम कम भएको छ।
आयोजना प्रमुख डा. नारायण सुवेदीले भने, “दुई महिनाभित्र निर्माण सम्पन्न गरी स्थानीय जनतामा त्रास हटाउन सफल भयौं।” खल्ला झगडिया गाउँमा निर्माण सम्पन्न तटबन्धले नदीको धार परिवर्तन गराउँदा कटान रोकिने अपेक्षा गरिएको छ। स्थानीय दीपनारायण बर्माले यसवर्ष कटान रोकिने विश्वास व्यक्त गर्नुभयो भने राप्तीसोनारी–६ का वडा अध्यक्ष लवराज खरेलले कामप्रति सन्तुष्टि व्यक्त गर्नुभयो।
खल्ला झगडिया क्षेत्रमा निर्माण सम्पन्न भएपछि अब फत्तेपुर जरैयास्थित राप्तीमा नयाँ आपत्कालीन तटबन्ध निर्माण सुरु गरिने जनाइएको छ। यसका लागि रु ६ करोड ५ लाख लागतमा साई माँ दुर्गा भिन्सी जेभीलाई ठेक्का दिइएको छ भने मङ्सिर २०८३ सम्म पक्की तटबन्ध निर्माण गरिने योजना छ।

