प्रधानमन्त्री ओली एलएलडिसी सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तानमा

📍 अवाजा, तुर्कमेनिस्तान , १९ साउन

प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (LLDC) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन आज तुर्कमेनिस्तानको अवाजा सहर आइपुगेका छन्।

प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डल स्थानीय समयअनुसार दिउँसो २:३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवाजा विमानस्थलमा अवतरण गरेको हो।

अवतरणपछि उहाँलाई तुर्कमेनिस्तान सरकारका उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापा लगायतले स्वागत गरेका थिए।

यसपटकको सम्मेलन आगामी साउन २० देखि २३ गते (अगस्ट ५–८) सम्म आयोजना हुँदैछ। सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले औपचारिक निमन्त्रणा पठाएका थिए।

प्रधानमन्त्री ओलीले सम्मेलनमा नेपालको तर्फबाट भूपरिवेष्ठित राष्ट्रहरूको विशेष चासो, विकास चुनौती र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

Facebook Comments Box