पुराना प्रतिबद्धताको हिसाब माग्दै सिरहाका मतदाता
सिरहा, १५ फागुन – प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सिरहाका गाउँबस्तीमा चुनावी गतिविधि बढेका छन्। तर यसपटक उम्मेदवारका लागि घरदैलो अभियान विगतजस्तो सहज देखिएको छैन। विगतमा आश्वासनमा ताली बजाउने मतदाता अहिले भने नेताहरूको कार्यसम्पादनको ‘रिपोर्ट कार्ड’ खोज्न थालेका छन्।
पुराना दलका उम्मेदवारहरूलाई अघिल्ला प्रतिबद्धताको प्रगति देखाउन दबाब परेको छ भने नयाँ अनुहारहरूलाई आफू फरक भएको प्रमाणित गर्न चुनौती थपिएको छ। मतदाताले चार मुख्य मुद्दालाई प्राथमिकतामा राखेका छन्—हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा निर्माणाधीन पुल, भूमिहीनलाई लालपुर्जा वितरण, किसानका लागि मलखादको उपलब्धता र ग्रामीण सडकको स्तरोन्नति।
कमला नदीमा निर्माणाधीन पुल १४ वर्षसम्म पनि सम्पन्न नभएको भन्दै स्थानीयमा असन्तोष बढ्दो छ। लहान र धनुषा जोड्ने उक्त पुलको ढिलाइलाई लिएर स्थानीयले ठोस कार्यतालिका मागिरहेका छन्। उनीहरूले शिलान्यासभन्दा पनि सञ्चालनको सुनिश्चितता खोजेको बताएका छन्।
भूमिहीन तथा दलित समुदायका बासिन्दाले लालपुर्जाको मुद्दालाई चुनावी बहसको केन्द्रमा राखेका छन्। उनीहरू हरेक चुनावमा फाराम भर्ने तर त्यसपछि प्रक्रिया अघि नबढ्ने परिपाटी अन्त्य हुनुपर्ने माग राख्दै आएका छन्। यसपटक अधिकार सुनिश्चित नभएसम्म समर्थन नदिने चेतावनीसमेत दिएका छन्।
तराई क्षेत्रलाई अन्नको भण्डार मानिए पनि खेतीको समयमा रासायनिक मल अभाव दोहोरिने समस्या समाधान हुन नसकेको किसानको गुनासो छ। उनीहरूले समयमा मल उपलब्ध गराउने र उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने स्पष्ट योजना माग गरेका छन्।
ग्रामीण भेगका सडकको अवस्था पनि मतदाताको असन्तुष्टिको अर्को कारण बनेको छ। वर्षेनी ग्राभेल हालिए पनि वर्षातसँगै बग्ने समस्याले दीर्घकालीन समाधान आवश्यक रहेको स्थानीयको भनाइ छ। उनीहरूले पक्की सडक निर्माणसँगै पारदर्शी प्रक्रिया र गुणस्तर सुनिश्चितताको माग गरेका छन्।
मानवअधिकारकर्मी र नागरिक अगुवाहरूका अनुसार यसपटक मतदाता बढी सचेत देखिएका छन्। जातीय वा दलगत आधारभन्दा माथि उठेर विकास र सुशासनलाई प्राथमिकता दिने प्रवृत्ति बढेको उनीहरूको विश्लेषण छ। पुराना दलका उम्मेदवारहरू विगतका उपलब्धि प्रस्तुत गर्दै बाँकी काम ‘प्राविधिक कारण’ले रोकिएको दाबी गरिरहेका छन् भने नयाँ दलका उम्मेदवारहरूले परिवर्तनको विकल्पका रूपमा आफूलाई प्रस्तुत गरिरहेका छन्।
यसपटकको चुनावमा मतदाताले उम्मेदवारसँग स्पष्ट योजना, समयसीमा र जवाफदेहिताको आधारमा निर्णय गर्ने संकेत दिएका छन्। मतदाताको बढ्दो प्रश्नाकुलताले सिरहाको चुनावी प्रतिस्पर्धालाई थप रोचक र चुनौतीपूर्ण बनाएको छ।

