आज अपराह्न प्रतिनिधिसभा बैठक
काठमाडौँ, १९ भदौ – प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दैछ। आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या, कृषि तथा पशुपन्छी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची छ।
यस्तै, सभामुखले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने छन्। साथै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव राख्ने कार्यसूची रहेको छ।
त्यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन विधेयक, २०७९’ माथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यतालिका तय गरिएको छ।

