बागमतीमा कांग्रेस नेता बानियाँले मुख्यमन्त्रीका लागि दाबी पेस

📍 बागमती प्रदेश, १९ साउन २०८२

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन्। एमालेको समर्थनसहित उनले आइतबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्तिको दाबी पेश गरेका हुन्।

बानियाँको पक्षमा कांग्रेसका ३७ र एमालेका २७ जना गरी कूल ६४ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहितको समर्थन रहेको पत्र प्रदेश प्रमुखलाई बुझाइएको छ। उक्त पत्रमा कांग्रेस संसदीय दलका नेता बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले संयुक्त हस्ताक्षर गरेका छन्।

यसअघि कांग्रेस संसदीय दलको नेताको चुनावमा बानियाँले तत्कालीन मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई पराजित गरेका थिए। पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री लामा आजै राजीनामा दिएपछि नयाँ सरकार गठनको मार्ग खुला भएको हो।

प्रदेश प्रमुख देवकोटाले आजै साउन २० गते दिउँसो २ः०० बजेसम्म नयाँ मुख्यमन्त्री नियुक्तिका लागि आवश्यक समर्थन जुटाएर दाबी पेश गर्न आह्वान गरेका थिए।

Facebook Comments Box