नागको पूजाआराधना गरी आज देशभर नागपञ्चमी पर्व मनाइँदै

काठमाडौं, १३ साउन — वैदिक सनातन परम्पनाअनुसार नागको पूजा गर्दै आज देशभर नागपञ्चमी पर्व श्रद्धा एवं भक्तिपूर्वक मनाइँदैछ। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा घरका मूलढोकामा नागको चित्र टाँस्ने चलन छ। धार्मिक विश्वासअनुसार आजको दिन नागपूजा गर्दा सर्प, बिच्छी लगायतका विषालु जीवको भय कम हुने, साथै आगलागी, चट्याङ र असिना जस्ता प्राकृतिक प्रकोपबाट समेत रक्षा हुने जनविश्वास रहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार वैदिककालदेखि नै नागलाई सर्पको राजा मान्ने गरिएको छ। “पानीको स्रोतसँग नागको सम्बन्ध रहेको विश्वास छ, त्यसैले नाग रिसाउँदा वर्षा नहुने मान्यता अनुसार वर्षाको कामना गर्दै नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसालिएको हो,” उहाँले बताउनुभयो।

बराहपुराणअनुसार आजकै दिन नागराजसँग ब्रह्माको संवाद भएको उल्लेख पाइन्छ। वैदिक दर्शनमा भगवान शिवले गळामा नाग धारण गर्नु तथा भगवान विष्णुले शेषनागको शय्यामा शयन गर्नुका कारण पनि नागलाई देवतास्वरूप पूजा गरिन्छ।

गणेश, लक्ष्मण, बलरामलगायत देवताहरूलाई पनि नागसँग प्रत्यक्ष सम्बन्ध रहेको उल्लेख गर्दै डा. भट्टराईले “श्रीकृष्णद्वारा बाल्यकालमा कालीनागको दमन, मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नाग, बुद्ध मूर्तिमा नाग आकृति, जैन तीर्थंकरहरूको मुकुटमा नाग आदि उदाहरण नागपूजाको महत्त्व दर्शाउने आधार हुन्,” भन्नुभयो।

धर्मशास्त्रमा अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको उल्लेख पनि पाइन्छ। ‘जहाँ नाग पूजा हुन्छ, त्यहाँ लक्ष्मीको वास हुन्छ’ भन्ने सनातन विश्वास अझै जीवित रहेको बताइएको छ।

नागपञ्चीको आरम्भबारे एक प्रसिद्ध किंवदन्तीअनुसार, एक किसानले नागका तीन बच्चा मारेपछि रिसाएको नागिनीले उनको सिंगो परिवार मारेकी थिइन्। तर घरबाहिर रहेकी छोरीले पूजा र दूध चढाउने बिन्ती गरेपछि नागिनी प्रसन्न भइ परिवारलाई पुनः जीवनदान दिएकी थिइन्। सो दिन श्रावण शुक्ल पञ्चमी भएकाले त्यसै दिनदेखि नाग पूजा गर्ने परम्परा सुरु भएको जनविश्वास रहिआएको छ।

आजको दिन काठमाडौंको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरी, तथा अन्य नागदह, कुण्ड र नागस्थानमा विशेष पूजा, पूजापाठ तथा दुग्ध, खीर, अक्षता, दुबो र रोटीजस्ता प्रसाद चढाइँदैछ। घरमा पनि अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ कूल नागहरूको तस्बिर ब्राह्मणबाट पूजा गराई मूलढोकामा टाँस्ने परम्परा छ। नागपञ्चमीको दिन खनजोत नगर्ने, सर्प जातिका जनावरलाई नमार्ने परम्परा वैदिक मान्यतासँग जोडिएको छ।

वैज्ञानिक रूपमा, नाग तथा विषालु जीवहरूले वातावरणमा रहेका विषालु तत्वहरू शोषण गरी जैविक सन्तुलन कायम राख्न भूमिका खेल्ने भएकाले प्राचीन ऋषिमुनिहरूले तिनको पूजा आराधना गर्ने परम्परा बसालेको विश्वास गरिएको छ। नागपञ्चमीसँगै हिन्दू धर्मावलम्बीहरूको चाडपर्वको याम औपचारिक रूपमा सुरु हुने धार्मिक मान्यता पनि छ।

Facebook Comments Box