विश्व बाघ दिवस : नेपालमा बाघको सङ्ख्या चार सयसम्म धान्न सक्ने क्षमता

काठमाडौं, १३ साउन –  पाटे बाघ संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज (जुलाई २९) विश्वभर ‘विश्व बाघ दिवस’ मनाइँदैछ। सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा आयोजित पहिलो अन्तर्राष्ट्रिय बाघ सम्मेलनले उक्त दिवस मनाउने घोषणा गरेपछि नेपालले समेत विभिन्न कार्यक्रममार्फत बाघ संरक्षणका सन्देश फैलाउँदै आएको छ।

नेपालमा पछिल्लो पटक सन् २०२२ मा भएको राष्ट्रिय बाघ गणनाअनुसार देशभर ३५५ पाटे बाघ रहेको सरकारी तथ्यांकले देखाएको छ। सन् २००९ मा १२१ मात्र रहेको बाघको सङ्ख्या हाल झण्डै तेब्बर भएको हो। तर बाघको संख्या बढेसँगै मानव–बाघ द्वन्द्व, बासस्थानको संकट, चोरी सिकार, पूर्वाधार निर्माणजस्ता चुनौतीहरू गहिरिँदै गएका छन्। वन क्षेत्र नजिकै बसोबास गर्ने स्थानीयवासी घाँसदाउरा, गाईभैँसी चराउने वा निहुरो टिप्न जङ्गल पस्दा बाघको आक्रमणमा परेका घटनाहरू बढिरहेका छन्।

बाघको ‘धान्ने क्षमता’ चार सयसम्म
बाघको संख्या वृद्धि हुँदै जाँदा नेपालमा यसको धान्ने क्षमता कति हो भन्ने विषयमा बहस सुरु भएको छ। प्रारम्भिक अध्ययनले नेपालमा हालको भूगोलअनुसार झण्डै चार सय बाघ धान्न सक्ने सम्भावना देखाएको छ।

जिओलोजिकल सोसाइटी अफ लन्डन (ZSL), राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) र WWF नेपाललगायत संस्थाहरूले संयुक्त रूपमा बाघको धान्ने क्षमताबारे अध्ययन गरिरहेका छन्।

ZSL नेपालका प्रतिनिधि डा. भगवानराज दाहालका अनुसार, “बाघको संख्या बढी भयो भन्नुभन्दा पनि अब गुणस्तरीय आहारा, पानीका स्रोत र घाँसेमैदान विस्तारमा ध्यान दिनुपर्छ।” उहाँका अनुसार संरक्षण क्षेत्रको आकारभन्दा बासस्थानको गुणस्तर महत्वपूर्ण बन्न गएको छ।

मानव–बाघ द्वन्द्व न्यूनीकरणमा जोड
बाघ संरक्षण विशेषज्ञ तथा NTNC निर्देशक डा. चिरञ्जीवीप्रसाद पोखरेलका अनुसार, बाघ आफ्नो प्राकृतिक व्यवहार परिवर्तन नगर्ने प्राणी भएकोले द्वन्द्व न्यूनीकरणका लागि मानव पक्षले आनीबानीमा परिवर्तन गर्नुपर्ने देखिएको छ। “हामीले समुदायमा चेतना फैलाउने, सीपमूलक तालिम दिने र वैकल्पिक आम्दानीका स्रोत विकास गर्ने कार्यक्रम सञ्चालन गरिरहेका छौं,” डा. पोखरेलले भन्नुभयो।

सबैभन्दा बढी बाघ चितवनमा
वन मन्त्रालयका अनुसार हाल चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै १२८ बाघ छन्। त्यसपछि बर्दियामा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ छन्। नेपालले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता पुरा गरेको छ। सन् १९९५ मा ९८ रहेको बाघ संख्या क्रमशः बढ्दै सन् २०१८ मा २३५ र २०२२ मा ३५५ पुगेको हो।

१८ समस्याग्रस्त बाघ खोरमा
मानव बस्तीमा पसेका, आक्रमण गरेका वा घाइते अवस्थामा भेटिएका १८ समस्याग्रस्त बाघहरू हाल विभिन्न निकुञ्ज र चिडियाखानामा खोरमा राखिएका छन्। जावलाखेलस्थित चिडियाखानामा ५, चितवनमा ७, बर्दियामा ४, बाँके र पर्सामा १/१ वटा छन्।

यी बाघहरूको हेरचाह, उपचार र व्यवस्थापनमा सरकारलाई वार्षिक रूपमा ठूलो खर्च लाग्दै आएको छ। बाघलाई मार्न वा बेचबिखन गर्न कानुनी रूपमा निषेधित भए पनि दीर्घकालीन व्यवस्थापनका लागि ‘टाइगर जु’ स्थापना, वन्यजन्तु कूटनीति मार्फत मित्रराष्ट्रलाई उपहारस्वरूप दिने जस्ता विकल्पबारे बहस भइरहेको छ।

विश्वमा बाघ संख्या ५ हजार ३५७
WWF का अनुसार हाल विश्वभर बाघको संख्या ५,३५७ पुगेको छ। भारतमा सबैभन्दा धेरै ३,१६७ बाघ छन् भने रुसमा ७५०, इन्डोनेसियामा ४००, नेपालमा ३५५, थाइल्याण्डमा १८९, भुटानमा १५१, मलेसियामा १५० र बाँकी अन्य देशमा कम संख्यामा रहेका छन्।

निकुञ्ज विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यका अनुसार, “बाघलाई जङ्गलमै राख्न गुणस्तरीय आहारा, पानी र पर्याप्त वासस्थानको सुनिश्चितता गर्नु आवश्यक छ।” उनका अनुसार नेपालको भूगोल अझै केही बाघ थप धान्न सक्ने अवस्थामा छ र बाघ व्यवस्थापनका लागि समुदाय–केन्द्रित सहअस्तित्व कार्यक्रमहरूलाई अझ मजबुत बनाउन जरुरी देखिएको छ।

Facebook Comments Box