कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौं, १३ साउन — हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदरभन्दा केही उत्तरतर्फ अवस्थित रहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा तथा तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानहरूमा भारी वर्षा को सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
आज राति लुम्बिनी प्रदेशलगायत देशका पहाडी क्षेत्रहरूमा साधारणतया बदली रहनेछ भने तराईका बाँकी भूभागमा आंशिक बदली रहनेछ। यी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना यथावत् रहेको मौसम विद्ले जनाएका छन्। मौसम पूर्वानुमान महाशाखाले सम्भावित भारी वर्षाको जोखिमलाई मध्यनजर गर्दै नदी आसपास, भू–स्खलन सम्भावित क्षेत्र तथा डुबानग्रस्त स्थानहरूमा सतर्कता अपनाउन अनुरोध गरेको छ।

