जुडिबेला खानेपानी आयोजना : दश वर्षमा आधा काम, स्थानीयवासी अझै आर्सनिकयुक्त पानी पिउन बाध्य
रौतहट, ११ साउन — चन्द्रपुर नगरपालिका–२ स्थित जुडिबेला खानेपानी आयोजना सुरु भएको एक दशक बितिसक्दा पनि सम्पन्न हुन नसक्दा स्थानीयवासी अझै पनि आर्सनिकयुक्त पानी पिउन बाध्य छन्। विसं २०७२ सालमा निर्माण सुरु गरिएको उक्त आयोजना हालसम्म करिब ५५ प्रतिशत मात्रै सम्पन्न भएको छ। आयोजनाले जुडिबेलाका २,५०० घरधुरीमा बसोबास गर्ने झन्डै १० हजार नागरिकलाई शुद्ध पानी उपलब्ध गराउने लक्ष्य राखिएको थियो।
चन्द्रपुर नगरपालिकाका अन्य ९ वडामा आयोजना सम्पन्न भई सञ्चालनमा आइसके पनि वडा नं. २ मा मात्र आयोजनाले गति लिन सकेको छैन। सर्लाहीस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार १० वर्षमा आयोजना अलपत्र पर्नुको प्रमुख कारण बजेटको अभाव हो।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष भोला थपलियाका अनुसार, “यहाँका अधिकांश नागरिक अझै पनि ३० देखि ५० फिट गहिराइको आर्सनिकयुक्त पानी प्रयोग गरिरहेका छन्। आयोजनाको प्रारम्भ संघीयता कार्यान्वयनभन्दा अघिको हो, तर संघीयतापछि न त संघीय सरकारको ध्यान जान सक्यो, न त प्रदेश सरकारले नै प्राथमिकता दियो।” उहाँका अनुसार हाल करिब २०० घरमा मात्रै मोटरमार्फत पानी आपूर्ति भइरहेको छ। बाँकी वासिन्दा अझै असुरक्षित पानीमा निर्भर छन्।
उपभोक्ता समितिका सदस्य टेकनाथ खरेलका अनुसार आयोजनाबाट पानी वितरण गर्न अझै ३५ किलोमिटर मेनलाइन पाइप आवश्यक छ। “फूलबारीदेखि वनटोल, रैयाटोलसम्मका बासिन्दालाई सेवा दिन पाइप आवश्यक छ,” उहाँले बताउनुभयो। उहाँको भनाइमा, अहिलेको आयोजना पर्याप्त नहुने भएकाले विकल्पका रूपमा अर्को नयाँ खानेपानी आयोजना आवश्यक भइसकेको छ।
डिभिजन कार्यालयका इञ्जिनियर विवेक झाले हालसम्म आयोजनामा ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की, २७ किलोमिटर मेनलाइन पाइप, डिपबोरिङ, पम्पहाउस, कार्यालय भवन, विद्युतीकरण जस्ता संरचना निर्माण भइसकेको जानकारी दिनुभयो। तर, ट्याङ्की निर्माण गर्ने ठेकेदारलाई रु ५४ लाख भुक्तानी दिन नसकिएको उहाँले बताउनुभयो। बजेट अभावकै कारण बाँकी पाइप खरिद तथा वितरण लाइन बिच्छ्याउने काम ठप्प रहेको छ।
डिभिजन कार्यालयले आयोजना सम्पन्न गर्नका लागि अझै रु २ करोडको बजेट आवश्यक पर्ने उल्लेख गर्दै २०८० सालको भदौ १४ गते मधेस प्रदेश सरकारअन्तर्गत ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयमा पत्र पठाएको जनाएको छ। तर, बजेट कहिले आउने भन्ने अनिश्चित भएको इञ्जिनियर झाले बताउनुभयो। “बजेट समयमा आउने हो भने काम सम्पन्न गर्न सकिन्छ,” उहाँको भनाइ छ।
वडाध्यक्ष दुत्तबहादुर थिङका अनुसार जनगणना २०७८ अनुसार वडा नं. २ मा ९ हजार ९८२ जनसंख्या रहेको छ। जनगणनाले २ हजार ४८ घरपरिवार देखाए पनि अहिले २ हजार ५ सयभन्दा बढी घरधुरी रहेको बताइएको छ।

