बर्दिया घटनाबारे गठित छानबिन समितिद्वारा स्थलगत अध्ययन सुरु

काठमाडौँ, २४ मंसिर – नागरिकता अभावका कारण बर्दियामा एउटै परिवारका आमा–छोरीले ज्यान गुमाउनुपरेको घटनाबारे छानबिन गर्न गठित सरकारी समितिले स्थलगत अध्ययन सुरु गरेको छ।

सहसचिव सुरेश पन्थीको संयोजकत्वमा रहेको समिति आज बढैयाताल गाउँपालिका–४ पुगेर घटनास्थल निरीक्षण गर्दै स्थानीय सरोकारवालासँग सर्वपक्षीय छलफल गरेको हो।

समितिको पहलमा आजै मृतक अञ्जु थारुकी सात वर्षीया छोरी अनिताको जन्म दर्ता तथा अञ्जुको मृत्यु दर्ता सम्पन्न गरिएको समिति सदस्य कुलशेखर अर्यालले जानकारी दिए।

समितिले पीडित परिवारलाई सहजीकरण गर्दै घटनासम्बन्धी आवश्यक तथ्य संकलन थालिसकेको उनले बताए। “अझ बाँकी पक्ष बुझेर सम्पूर्ण निष्कर्ष प्रतिवेदनमा समेट्नेछौँ,” अर्यालले भने।

यस घटनामा अञ्जुका श्रीमान् अनिल थारु विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भइसकेको छ र उनलाई पक्राउ गर्न अदालतबाट अनुमति लिइसकिएको छ। साथै, राष्ट्रिय मानवअधिकार आयोगले पनि घटनाबारे छुट्टै छानबिन प्रक्रिया अगाडि बढाइरहेको छ।

गृह मन्त्रालयले मंसिर २१ गते सहसचिव पन्थीको संयोजकत्वमा उपसचिव अर्याल र बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारी सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

घटना कसरी भयो ?

बढैयाताल–४ की २२ वर्षीया अञ्जु थारुले गाउँकै अनिल थारुसँग विवाह गरेकी थिइन्। उनले श्रीमानविरुद्ध अंश मुद्दा दायर गरिन् र अदालतले अंश दिने आदेश पनि गर्‍यो। तर नागरिकता नहुँदा उनले अंश लिन सकिनन्।

नागरिकता नभएकै कारण छोरी अनिताको जन्मदर्ता समेत हुन सकेन। कानुनी प्रावधानअनुसार आमाबाटै जन्मदर्ता गर्न सकिने भए पनि वडा कार्यालयले ‘बुबाको नागरिकता अनिवार्य’ भन्दै प्रक्रिया रोकिदियो।

माइतीतर्फबाट नागरिकता बनाउन खोज्दा जिल्ला प्रशासन कार्यालयले समेत रोकावट गरेको परिवारको आरोप छ। स्थानीय तह र प्रशासनबाट निरन्तर असहयोग झेल्दा अन्ततः अञ्जुले गत कात्तिक २२ गते माइतीमै आत्महत्या गरिन्। आमाको मृत्युको चार दिनपछि, शोक र मानसिक दबाब सहन नसकी उनका ६१ वर्षीय बाबु कान्छा थारुले पनि आत्महत्या गरे।

Facebook Comments Box