कोशीमा तीन हजारभन्दा बढी डेङ्गु सङ्क्रमित, तीनको मृत्यु

झापा, १२ असार – कोशी प्रदेशका सबै १४ जिल्लामा डेङ्गु संक्रमण फैलिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार हालसम्म ३,१८१ जना डेङ्गु सङ्क्रमित भएका छन् भने तीन जनाको मृत्यु भइसकेको छ।

निर्देशनालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीले पहाडी जिल्लामा संक्रमित संख्या न्यून भए पनि तराईका चार जिल्लामा संक्रमण उच्च देखिएको जानकारी दिनुभयो।

उहाँका अनुसार मोरङमा ९१३, झापामा ८९७, सुनसरीमा ३७७ र उदयपुरमा २७५ जना संक्रमित छन्। अन्य जिल्लाहरूमा भोजपुरमा २२६, धनकुटामा १४३, ओखलढुङ्गामा १२१, पाँचथरमा ७०, खोटाङमा १०, ताप्लेजुङमा दुई, इलाममा पाँच, सोलुखुम्बुमा छ र तेह्रथुममा दुई जना डेङ्गु संक्रमित फेला परेका छन्।

अधिकृत खत्रीले विगत ५० वर्षमा विश्वभर डेङ्गुको संक्रमण ३० गुणाले बढेको उल्लेख गर्दै जिल्लास्तरीय स्वास्थ्य कार्यालय तथा स्थानीय तहमा खोजपड्ताल र लामखुट्टेको लार्भा नष्ट गर्ने कार्य भइरहेको जानकारी दिनुभयो।

उहाँले एडिज एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोकेर संक्रमण फैलाउने भएकाले शरीर ढाकिने खालका कपडा लगाउन र घर वरिपरि पानी जम्न नदिने उपाय अपनाउन सुझाव दिनुभयो।

“डेङ्गु हुन नदिन लामखुट्टेको टोकाइबाट जोगिनु नै सबैभन्दा प्रभावकारी उपाय हो,” उहाँले भन्नुभयो, “घर वरिपरि सफा राख्ने, पानी जम्ने भाँडाकुँडा हटाउने जस्ता उपाय अपनाउनुपर्छ।”

डेङ्गुका लक्षणमा उच्च ज्वरो, असाध्यै शरीर दुख्ने, खाना मन नलाग्ने, पखाला लाग्ने, जोर्नी तथा मांसपेशी दुख्ने, आँखाको गेडी र टाउको दुख्ने, शरीरमा राता बिमिरा देखिनु, वाकवाकी लाग्ने वा बान्ता हुनु पर्छन्। ती लक्षण देखिएमा चिकित्सकको परामर्श लिएर किट परीक्षण गराउनु पर्ने स्वास्थ्य निर्देशनालयले जनाएको छ।

Facebook Comments Box