‘मर्निङ वाक’मा हात्तीको आक्रमण, दुई महिला घाइते

झापा, ११ साउन — बिहानको हिँडाइ (‘मर्निङ वाक’) मा रहेका दमक नगरपालिका–१ बरगाछीका दुई महिला जङ्गली हात्तीको आक्रमणमा परेर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार घाइते हुनेमा ४२ वर्षीया कविता राई र ४७ वर्षीया सुनिता राई रहेका छन्। आज बिहान नजिकैको जंगलबाट निस्किएको हातीसँग बाटोमै जम्काभेट हुँदा हात्तीले सुँढले बेरेर उनीहरूलाई लडाएको हो।

दुवैको टाउको, हात, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइतेहरूलाई उपचारका लागि तत्काल दमक अस्पतालमा लगिएको छ। घाइतेमध्ये सुनिता राईको अवस्था गम्भीर रहेको जनाइएको छ। प्रहरीका अनुसार आक्रमणपछि हात्ती पुनः जंगलतर्फ फर्किएको थियो।

झापाको जलथल, निचाझोडा र आसपासका सामुदायिक वनमा एक दर्जनभन्दा बढी रैथाने हात्ती बसोबास गर्दै आएका छन्। जंगल छेउका बासिन्दा मर्निङ वाक, घाँस–दाउरा संकलन तथा जङ्गलमा च्याउ र निगुरो टिप्न जाँदा हात्तीको आक्रमणमा पर्ने गरेका छन्।

डिभिजन वन कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा हात्तीको आक्रमणबाट जिल्लामा ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। यस्तै, उक्त अवधिमा चारवटा हात्ती मृत भेटिएका थिए।

Facebook Comments Box