कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, ३१ असार – हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वतर्फ केही उत्तरतिर रहेकोले मौसम बदली र वर्षाको सम्भावना बढेको हो।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। ती प्रदेशका एकदुई स्थानमा भारी वर्षा पनि हुनसक्ने पूर्वानुमान गरिएको छ।
यसैगरी, उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना पनि रहेको छ। आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। रातिको समयमा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा तथा अन्य भागका केही स्थानहरूमा समेत चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ।
कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। साथै कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानहरूमा हुरीबतासको सम्भावना पनि रहेको पूर्वानुमान गरिएको छ। महाशाखाले नदी तटीय क्षेत्र, पहिरो सम्भावित स्थान र तराई क्षेत्रमा सवारीसाधन तथा आवतजावत गर्दा विशेष सतर्कता अपनाउन सुझाव दिएको छ।

