‘जिएसआईमा नेपालले कुनै सहमति गरेको छैन’
काठमाडौँ, १९ भदौ – सरकारले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जिएसआई) मा नेपालले कुनै सहमति नगरेको पुनः स्पष्ट पारेको छ। चीनको थियानजिनमा गत भदौ १४ गते सम्पन्न साङ्घाइ सहयोग संगठन (एससिओ) प्लस शिखर सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्तामा नेपालले जिएसआईमा सहमति जनाएको भन्ने समाचार आधारहीन भएको सरकारको भनाइ छ। यस सम्बन्धमा भ्रममा नपर्न आग्रह गरिएको छ।
परराष्ट्र सचिव अमृतबहादुर राईले रासससँग कुरा गर्दै नेपालले अङ्गीकार गरेको असंलग्न परराष्ट्र नीतिप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले संवेदनशील विषयमा वास्तविकता नबुझी टिप्पणी नगर्न सबैसँग आग्रह गर्नुभयो।सचिव राईका अनुसार प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीचको वार्तामा ‘ग्लोबल डेभलपमेन्ट इनिसियटिभ्स’ सहित द्विपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल भएको थियो।

