आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ, ३१ असार – संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक आज दिउँसो १:०० बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा सुरु हुने कार्यतालिका तय गरिएको छ। आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।

त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राष्ट्रियसभाबाट प्राप्त “पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” माथि विचार गर्न प्रस्ताव पेस गर्नुहुनेछ। बैठकमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले “२३औँ वार्षिक प्रतिवेदन, २०८२” प्रतिनिधिसभामा पेस गर्नुहुनेछ। साथै सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउनुहुने कार्यक्रम छ।

अर्कोतर्फ, राष्ट्रियसभाको बैठक आज दिउँसो १:१५ बजे सुरु हुनेछ। बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले “संघीय निजामती सेवा विधेयक, २०८०” माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काद्वारा “जलस्रोत विधेयक, २०८१” लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पनि आजको राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूचीमा परेको छ। संघीय संसद् सचिवालयले दुवै सदनमा प्रस्तुत गरिने प्रस्ताव र छलफलका एजेन्डा सार्वजनिक गर्दै संसद् बैठक समयमै सुरु हुने जनाएको छ।

Facebook Comments Box