माइक्रोबस दुर्घटनामा १७ जना घाइते
गोरखा, २३ कात्तिक – सिरानचोक गाउँपालिका–४, चोरकाटेस्थित घुम्तीमोडमा भएको माइक्रोबस दुर्घटनामा चालकसहित १७ जना यात्रु घाइते भएका छन्। भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा ४ ख ६०४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो।
दुर्घटनामा परी ८ वर्षीया स्वरिनल चौधरी, ४३ वर्षीया लक्ष्मी चौधरी र ३६ वर्षीया पवित्रा महतो गम्भीर घाइते भएको बताइएको छ। घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेर घाइते यात्रुहरूलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये अधिकांश चितवनको खैरेनी नगरपालिकाका बासिन्दा रहेको र उक्त माइक्रोबसमा कुल १९ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ।

