दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

दाङ, ३१ असार – दाङमा छुट्टाछुट्टै दुई घटनामा चार जनाको ज्यान गएको छ। पहिलो घटनामा, बबई नदीमा पौडी खेल्ने क्रममा दुई किशोर डुबेर मृत्यु भएका छन्। बबई गाउँपालिका–४ पुरन्धारा छहरा नजिकै पौडी खेलिरहेको बेला १७ वर्षीय विधान केसी र १६ वर्षीय कुशल बुढामगर डुबेर बेपत्ता भएका थिए। उनीहरू तुलसीपुर उपमहानगरपालिका–२ का निवासी हुन्।

हापुरे इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख देव केसीका अनुसार उनीहरू साथीहरूसँग नदीमा पौडी खेल्न गएका थिए र डुबेर हराएका थिए। शव परीक्षणका लागि दुवैको शव तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ।दोस्रो घटनामा, रामपुर–घोराही सडकखण्डको सिस्नेखोला पुलमा मोटरसाइकल दुर्घटनामा परी दुई किशोरको मृत्यु भएको छ।

गढवा गाउँपालिका–८ का १८ वर्षीय रोहित विक र १६ वर्षीय निशान विक मोटरसाइकल दुर्घटनामा घाइते भएका थिए र उपचारका क्रममा सोमबार साँझ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा निधन भएका हुन्। प्रहरीका अनुसार, दुर्घटना बेलुका करिब ७ः०० बजे भएको थियो। रामपुरबाट घोराहीतर्फ आउँदै गरेको रा७प ३२७० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सिस्नेखोलामा दुर्घटना भएको हो। दुवैको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

Facebook Comments Box